– प्रकाश के.सी.
प्रकाशित मिति ५ फाल्गुन २०७१, मंगलवार १६:१७ घटना र विचार (न्युज डेस्क)
आकाश खुल्ला थियो । फराकिलो नीलो आकाशको परपरसम्म कतै पनि बादलका ढिस्का थिएनन्, त्यसैले पनि आकाशको बीचोबीच झल्किरहेको सूर्य झन् निख्खर देखिन्थ्यो । पार्कको एक छेउमा राखिएको एउटा सानो बेन्चमा टेकिएर एक वृद्ध हल्का खालको शारीरिक व्यायाम गर्दै थिए । स्पष्टै थियो, घामको निख्खरतासँग शरीरलाई मस्तले तताउन सक्ने सामथ्र्य काफी मात्रामा थिएन । अनुहारको अलिकति भागलाई मात्र नाङ्गो पारेर सम्पूर्ण शरीरलाई बाक्लो कपडामा ढाकेका ती वृद्ध नुवाकोटका केदार लामिछाने थिए । लन्डनस्थित बेम्ब्लीतिर बसोबास गर्ने बहत्तर वर्षीय लामिछाने आफ्ना छोरीज्वाइँ र नातिसँगै तिनको घरमा विगत तीन वर्षदेखि बसिरहेका थिए । एक्लिनुलाई मात्र देश छोड्नुको कारण भन्न नरुचाउने, श्रीमतीको मृत्यु भएपछि बिदेसिएका पूर्वहेडमास्टर वृद्ध लामिछाने केही अप्ठ्यारो मान्दै ‘वर्तमान बदलिँदो परिवेश’लाई दोष दिन्छन् ।
‘यो एक्लोपन र यस्तो जाडोले यो उमेरमा तपाईँलाई कत्तिको नेपालको सम्झना दिइरहेको छ त ?’ भन्ने प्रश्नमा ‘जन्मेको ठाउँ जे–जस्तो भए पनि दिल–दिमागबाट कहिल्यै हराउँदैन’ भन्दै वृद्ध लामिछाने यसरी एकोहोरो एकातिर टोलाउँदछन् कि आफ्नो सम्झनामा बसेको विगतहरूमा खुसी खोज्दै छन् या दुःखले पिरोलिँदै छन्, बुझ्न गाह्रो हुने गरी केही घोरिएपछि अगाडि भन्दछन्, ‘नरिसाउनु बाबु, तिमीहरूका पुस्ताहरूले नेपाललाई बस्नलायक बनाएनन् ।’ भोगाइको असर हुनुपर्दछ, त्यही असरले विचार बनाउँदछ । समय मन्द गतिमा चलेको लाग्ने सुदूर विगतमा जन्मेकाहरूले खासगरी बदलिँदो परिवेशको गतिलाई पछ्याउन नसकेर दुखेका भने अवश्य हुन्छन् । ‘खास त्यस्तो त होइन होला, तपाईं सायद समयसँग चल्न सक्नुभएन । स्थिति अनि अवस्थाहरू त समयसँगै परिवर्तनशील हुन्छन्, होइन र ? तपाईं त बुझ्ने मान्छे ……।’ हल्का–हल्का हल्लिन छोडेर बेन्चमा बसेका वृद्ध लामिछानेलाई फेब्रुअरी महिनाको जाडोले थर्थराउँदै थियो । तीन वर्षपछि लन्डनको यो क्षेत्रमा पनि हिउँ परेको थियो । रसुवाको धुन्चेबाट नुवाकोट झरेका लामिछाने खानदानले जुगौँजुग ती जिल्लाहरूवरपर बिताएको थियो । लौरोको रूपमा छातालाई टेक्दै अगाडि हिँड्दै गरेका वृद्ध भन्दै थिए, ‘गोसाइँकुण्ड जाँदा उसबेला मज्जाले हिउँ खेलिन्थ्यो, यो हिउँले मलाई त्यो बेलाको नेपाली संसारको याद आउँछ । गरिबीमा बाँच्न पनि समाजमा निक्कै सुखशान्ति थियो । एक–अर्कामा भरोसा थियो, समाजमा हाम्रो इज्जत थियो । अहिले त्यही गाउँमा आफ्नो परम्परालाई धान्दै इज्जतले बाँच्न नसक्ने अवस्था छ । छुवाछूत कानुनी रूपमा हटाइएको हो, तर आफ्नो अधिकारको स्थापना गर्ने भन्दै अर्कालाई आफ्नो परम्परा, अरूलाई चोट नदिई पालन गर्न पाउनुपर्ने अधिकारको हनन त गर्नुभएन नि ?’
जातपात र छुवाछूत हटेको भन्दै ब्राह्मणहरूको घरभित्रको चुल्होहरूमा जुत्तासहित गाउँका त्यस्ता जातिका युवाहरू भित्रिन थालेपछि लामिछानेको परिवार शान्त मनसँगै सो गाउँमा बस्न नसकी त्रिशूली बजारमा झरेका थिए । एक छोरो अमेरिकाको डल्लासमा र अर्की छोरी युकेको लन्डनमा वर्षौंदेखि घरजम गरी बस्दै आएकाले श्रीमती बितेपछि कहिले अमेरिका र कहिले युके बस्दै आउने वृद्ध लामिछाने अन्त्यमा भन्दै थिए, ‘आफैँ भन त बाबु, जहाँ इज्जतका साथ शिर ठाडो गरेर हिँडिएको थियो, त्यही ठाउँमा शिर निहु-याएर अनि अपहेलित भएर बाँच्न सकिन्छ त ? त्यसैले नेपालको त सम्झना मात्रै छ बाँकी, फर्केर त्यतै बाँकी जीवन बिताउन सकिने मचाहिँ देख्दिनँ पक्कै नै ।’
हङकङमा वर्षौंदेखि बसोबास गर्दै आउने नेपालीहरूका ९९ प्रतिशत जनजातिहरू भएको स्थानीय नेपाली जमातका चर्चा छ । हङकङमा रहेको नेपाली महावाणिज्य दूतावासमा आजसम्म नेपाल सरकारले एकजना पनि जनजातिमूलका महावाणिज्यदूत पठाएको छैन, जसका लागि हङकङमा जनजाति महासङ्घलगायतका अनेकौँ जातीय संस्थाहरूले त्यहाँ नेपाल सरकारको प्रतिनिधित्व गरेर आउने गैरजनजातीय महावाणिज्यदूतको औपचारिक रूपमा विरोध गर्दछन् र सो गैरजनजातिमूलको व्यक्तिको सार्वजनिक रूपमा नेपाली संस्थाहरूले गरेको भन्दै सामाजिक बहिष्कार पनि गर्दछन् ।
पानी परेको अगस्टको एक वाफिलो साँझ, चिम सा चुईस्थित स्टार फेरी पियरबाट फेरीमा यात्रा गर्दै वानचाई जाने क्रममा, केही हप्ताका लागि श्रीमतीसहित हङकङ आएका कृष्णप्रसाद भण्डारी हङकङमा प्रकाशित एक नेपाली साप्ताहिक पत्रिकाको मुख्य पृष्ठ पढ्दै थिए र साथमा श्रीमतीसँग बोल्दै पनि थिए, ‘नेपाली राजनीतिक पार्टीहरूको भागमा पर्ने हङकङमा पठाइएको सरकारी दूतलाई हङकङमा बस्ने सहुलियत पाएका नेपालीका बहुमतले सार्वजनिक रूपमा यहाँ बहिष्कार गर्ने रे, …अल्पमतमा रहेकाहरूलाई उक्त नेपाली प्रतिनिधिलाई यहाँ सम्मान गर्न चाहे पनि नपाउने भए । यस्तो पनि हुन्छ र ?’
पूर्व रामेछापको जिल्ला अदालतमा काम गर्ने वकिल पेसाका भण्डारीलाई नपचेको कुरा, आफ्नो अधिकारको सम्वद्र्धन गर्दै भनेर गरिएको अधिकारको प्रयोगमा, अर्काको अधिकारलाई हनन गर्न कोही पछि पर्दैनन् रहेछन् भन्ने थियो । उनको बुझाइमा नै हङकङ नेपालको कुनै एक जिल्ला वा अञ्चल वा क्षेत्र थिएन, जसमा पठाउनका लागि सरकारले त्यहाँ बस्ने मानिसको रुचि र मागलाई आधार बनाओस् । पार्टीगत कोटाको हिसाबमा भागबन्डा गरिएर नियुक्ति थमाइने परिपाटी चलेको वर्तमान राजनीतिगत क्रियाकलापहरूमा व्यक्तिको राजनीतिक साँठगाँठ अनि पहुँचले नै मान्यता पाउँदछ पदका लागि छानिनुमा भने, त्यहाँ जातीय विविधिकरणको त कुरै आउँदैन । हङकङमा कानुनी रूपमा बसोबास गर्ने, त्यहीमाथि भनिएकै जम्मा एक प्रतिशतका गैरजनजातिहरूलाई, सायद हुन सक्दछ, गैरजनजातिमूलका महावाणिज्यदूतलाई सम्मान गर्ने चाहना होस्, तर ९९ प्रतिशतका मानिसले उनलाई विरोध गर्न पाउने अधिकारका बीच, त्यो एक प्रतिशतले उनलाई सम्मान गर्न पाउनुपर्ने अधिकार मिचिएको थियो । भण्डारी भन्दै थिए, ‘यसरी ९९ प्रतिशतका आप्रवासी नेपालीका घृणाको पात्र भएर आएको महावाणिज्यदूतहरूलाई यहाँ बाँच्न कति गाह्रो भयो होला ? अनि त्यो एक प्रतिशतहरूलाई आफ्ना मौलिक अधिकारहरूको उपयोग गर्न नपाई भित्रभित्रै कुँजिएर बस्दा कत्तिको अप्ठ्यारो भयो होला !’
मानिस सामाजिक प्राणी हो, समाजबाट अलग रहेर कतै बस्नै सक्दैनन् । मानिसलाई खुसियाली बाँड्न समाजको साथ चाहिन्छ, अर्काले सहानुभूति नदेखाउने भए मानिसलाई वास्तवमा कुनै दुःखले दुखाउँदैन । चाड, पर्वहरू तथा मौसमहरू सबै–सबै समाजमा सामाजिक हुँदा प्यारो लाग्दछ भने जस्तोसुकै विपद्हरू पनि समाजमा सजिलोसँग पार लाग्दछन् । माथि राखिएको दुई उदाहरण निक्कै नै सारगर्भित छन् । नुवाकोटका लामिछाने र रामेछापका भण्डारीहरूले राख्ने विचारहरू पक्कै नै व्यक्तिगत मात्र होइनन् । समयसापेक्ष भन्ने गरिएका भए तापनि त्यो परिवर्तनमा समाजमा व्यापक विखण्डन भने ल्याएको हो । लामिछानेले भोगेका घटनाले उनको एक्लो प्रतिनिधित्व गर्दैन, त्यसले एक सिङ्गो कालखण्डको पनि प्रतिनिधित्व गर्दछ ।
एउटा सिङ्गो कालखण्डलाई थन्क्याउने गरेर नेपालमा शाह वंशको विनाश गरियो । देशमा विकराल किसिमले आन्तरिक गृहयुद्धजस्तो चलिरहेको सङ्क्रमित बेलामा घटाइएको उक्त वीरेन्द्र शाहको वंशनाशको बेला, त्यसबेला नारायणहिटी दरबारमा सम्पूर्ण पारिवारिक जमघटको अवसरमा पूर्वराजा ज्ञानेन्द्रको अनुपस्थिति हुनु, उनकी श्रीमती कोमल र छोरो पारस घटनास्थलमा भएर पनि सकुशल हुनुले अपरिमेय रूपमा पूर्वराजा ज्ञानेन्द्रमाथि सबैको शङ्का परेको हो । प्रजातान्त्रिक राज्यव्यवस्था भएको अवस्थामा घटाइएको सो घटनापछि तत्कालीन सरकारलाई घटनाको निष्पक्ष जाँचबुझ गर्न कसैले पनि रोक्न सक्ने अवस्था थिएन र त्यहीअनुरूप विभिन्न प्रतिवेदनहरू आए, अनुसन्धानहरू भए र अन्तिममा पूर्वराजकुमार दीपेन्द्रको पागलपनको नतिजा भएको समाचारहरू बाहिर आयो । अन्ततः ज्ञानेन्द्र राजगद्दीमा बसेर केही समय अप्रत्यक्ष र केही समय प्रत्यक्ष नेपाल सरकारको हैसियतमा शासन गरे नेपालमा । तथापि कैयनको नजर र बुझाइमा, स्व. राजा वीरेन्द्रको वंशनाश, उनकै भाइ पूर्वराजा ज्ञानेन्द्रबाट भएको हो भन्ने धारणा अद्यापि हटेर गएको छैन ।
अन्तर्राष्ट्रिय कानुनी मान्यता तथा विश्वव्यापी सत्यताअनुसार पनि अपराधी तबसम्म अपराधी कहलिँदैन, जबसम्म मुलुकको अदालतबाट उक्त व्यक्तिलाई अपराधी प्रमाणित गरिँदैन । कानुनी रूपमा अपराधी वा हत्यारा नबताइएको व्यक्तिसँग कुनै पनि मुलुकमा अन्य नागरिकसरहको आत्मसम्मान अनि आमअधिकारहरूको वहन गरेको अवस्था हुन्छ । उक्त व्यक्तिलाई तदनुरूप पनि अपराधी भन्नेहरूमाथि मानहानिको मुद्दा हाल्न सक्ने पूर्ण कानुनी अधिकार उक्त व्यक्तिसँग रहेको हुन्छ । राजगद्दी छोडेर आमनागरिकसरह जीवन बिताइरहेका पूर्वराजा ज्ञानेन्द्रसँग अन्य आमनागरिकसरह के यो मौलिक अधिकार छैन त, आफ्नो परिवार तथा आफ्नो आत्मसम्मानको रुक्षा गर्न ?
विश्वमा अद्यावधि १०७ वटा देशमा राजसंस्था छन् र त्यसमध्ये ४० वटा देशमा संविधानसम्मत राजतन्त्र रहेको छ । जम्माजम्मी १०२ वटा देशहरूबाट पूर्ण रूपमा राजसंस्था हटाइएको छ । बेलायती राजसंस्था पुनर्वहाली भएको राजसत्ता हो भने अन्य केही मुलुकहरू जस्तै बुल्गेरिया र क्याम्बोडियामा राजसंस्थाको पुनर्वहालीका कामहरू तीव्र रूपमा भइरहेका छन् । हाल विश्वमा राजतन्त्र गुमाएर अद्यापि जीवित अवस्थामा रहेका पूर्वराजाहरूमा बेलायतलाई छोडेर वास्तवमा ६ जना छन् । बुल्गेरियाका सिमेओन द्वितीया, ग्रीसका कन्स्टेनटाइन द्वितीया, रोमानियाका माइकल प्रथम, रुवान्डाका किगेली पाँचौँ, जन्जिबारका सुल्तान जम्सिद विन अब्दुल्ला र नेपालका ज्ञानेन्द्र शाहमध्ये पूर्वराजा ज्ञानेन्द्रबाहेक सबैले सत्ताच्यूत भएपछि आ–आफ्नो देश छोडी अन्य देशमा शरण लिएर आरामको जीवन बिताइरहेका छन् । यो एउटा वास्तविक्रा हो । किन कसैले ज्ञानेन्द्रको यो कदमको बारेमा सोचेनन् र तदनुरूप बोलेनन् ?
इतिहास साक्षी छ, विगतमा नेपाली राजनीतिमा लाग्नेहरूका लस्करहरू छन्, जसलाई राजनीतिको यात्रामा लागेर अन्ततः हासिल भएको पदले फलाएको थियो, फुलाएको थियो र त्यसैले पनि भन्न सकिन्छ, तिनलाई नेपाली राजनीति फापेको भने हो । प्रधानमन्त्री, मन्त्रीहरू मात्रै होइनन्, तिनका आसेपासेहरूलगायत सांसदहरू अनि तिनका आसेपासेहरूका पनि फलिफाप भएका उदाहरणहरू यथेष्ठ छन् । देशले भोग्नैपर्ने वा विकासका आँधीबाट बच्नै नसक्ने समयसापेक्ष प्रगतिहरूबाहेक, वास्तवमै भन्ने भए देशले विकास कहिले पायो ? कुन नेतालाई आफ्नो अनि परिवारको लगायत, आफ्नो परिवेशको बाहेक, सम्पूर्ण रूपमा राष्ट्रको बारेमा सोच्ने चासो थियो र छ पनि ? चुनावभन्दा अगाडि मुसाजस्ता भएर आउने नेताहरू, पदमा पुगेपछि हात्तीको स्वरूपमा फुक्दछन् । उदाहरणहरू खोज्न प्रयास गर्नुपर्दैन, जताततै छर्लङ्ग हुनेगरी ती देखिएका छन् । नेपाली राजनीतिको दूषित मन्त्रले गर्दा आज नेपाली जातजातमा, क्षेत्र अनि धर्ममा विभाजित छन्, त्यसैको फलस्वरूप समाजमा वैमनष्यता फैलँदो छ । सबैलाई आफू र आफ्नो जमात प्यारो लाग्ने भएको छ भने साझा तथा सम्पूर्ण पनको कसैलाई मतलब नै छैन । यसबारे ज्यादा बोल्नु जरुरी छैन, सर्वत्र व्याप्त छ ।
देश अविछिन्न रहने भनेको आफ्नो मौलिक संस्कृति तथा परम्पराले गर्दा हो । आज नेपालसँग के छ, जसको लागि नेपालीले गर्व गर्न सकून् । लामिछानेजस्ता हजारौँ ब्राह्मणहरू छन्, जो आफ्नो परम्परासहित आफ्नै थातथलोमा इज्जतसाथ बाँच्न सक्दैनन् । धर्मनिरपेक्षताको नाममा वा परिवर्तनको नाममा हिन्दू धर्मावलम्बीहरूको सक्दो खिल्ली उडाइएको छ । आफ्नो अधिकारको उपभोग गर्ने भन्दै हिन्दूधर्मीहरूको अगाडि नै गाईलाई काटी मासु खान थालियो भने त्यहीँ गाईलाई माता मानी पुज्न पाउनुपर्ने हिन्दू आस्थाको अनि तिनको मौलिक अधिकारको खिल्ली उडाइयो । सम्पूर्ण धर्मावलम्बीहरूको गहन आस्थालाई अपहेलित गरियो । कोही व्यक्ति आफ्नै घरमा अन्यले देख्ने गरेर नाङ्गो रहे, अरूलाई यौनदायी यातना दिएको मानिन्छ र सोअनुसार अपराधी ठहरिन सक्दछ भने हिन्दूहरूले देख्ने गरी गाई काटिनु कत्तिको ठूलो यातना होला ? त्यस्तो ठाउँमा ती आस्थावानहरूलाई इज्जत साथ, सुरक्षित रूपमा जिउन पाउने अधिकारको, सरकारले ग्यारेन्टी किन दिएन ? त्यस्तो अप्ठ्यारो परिवेशमा लामिछानेजस्ताहरूसँग अन्य विकल्प के होला ? त्यस्तै हङकङमा एक प्रतिशत गैरजनजातिहरूले निश्चिन्त रूपमा नेपालको प्रतिनिधित्व गरेर आउनेलाई सम्मान, बेफिक्री साथ किन गर्न पाउँदैनन् ? नेपालको प्रतिनिधित्व गरेर आएका महावाणिज्यदूतहरूलाई विदेशी भूमिमा बहिष्कार गर्नेले, त्यो अल्पमतका आस्थालाई पनि त अपहेलना गरेनन् र ? त्यसरी बाँच्न कति गाह्रो होला तिनलाई हङकङमा ?
संविधान बनाउनका लागि देशको सम्पूर्ण सामाजिक, धार्मिक, जातिगत, पेसागत आदिको प्रतिनिधित्व गरेको भन्दै बटुलिएका ६०१ मा परेकाहरूका कार्यगत शैली भर्खरै देखियो र नतिजा पनि आयो– संविधान झन्झन् पो जटिल बन्दै गएको छ । आफ्नो जातिलाई ठूलो मान्दै सोअनुरूप राज्यको स्थापना गर्न चाहनेहरू, धर्मको नाममा राजनीति गरी आफ्नो धर्मलाई श्रेष्ठ बनाउन खोज्नेहरू, पार्टीगत विचारमा संलग्न भई देशमा साझापनमा होइन, विचाराधारागत विविधतामा खिची वर्गीकृत गर्न चाहनेहरू, देश अप्ठ्यारोमा परेको बखत मौका पार्दै आफ्नो व्यापारलाई चौगुना गर्नेहरू, देशमा समस्या बल्झिएको बेला देश छोडी बिदेसिनेहरू, राष्ट्रियतालाई ओझेल पार्दै इमानदारीको हवाला दिएर बेलायती बनेका भूतपूर्व गुर्खाहरू, कोटामा पढ्न बिदेसिएर विदेशी बन्ने दौडमा उन्मुक्त विद्यार्थीहरूलगायत वृद्ध केदार लामिछानेहरू अनि उनै पूर्वराजा ज्ञानेन्द्रमा को होलान् सच्चा राष्ट्रभक्त वा राष्ट्रवादी ?
कति गाह्रो भयो होला राजतन्त्र अनि राजगद्दी गुमाएर अनि अन्यसरहको सर्वसाधारण भएर उही ठाउँमा हिजोसम्म विष्णुको अवतारको रूपमा पुजिएका पूर्वराजा ज्ञानेन्द्रलाई बाँच्न ? एक व्यक्तिको सहनशीलताको आधारमा मात्रै अध्ययन गर्न सकिने के यो एउटा विषय थिएन र ? वृद्ध केदार लामिछानेलाई उनको धर्ममा खेलवाड भएको मात्रैले पनि नुवाकोटमा इज्जतका साथ बस्न सकेनन् र पलायनको बाटो रोजे । पूर्वराजा ज्ञानेन्द्रलाई कुन मापको अप्ठ्यारो अनि असजिलो भएको होला ? आफ्नो परिवार नै सबैका लागि हासोको विषय बनेको अनि आफ्नो गुम्दै गएको साख उही साँध र सिमानामा बसेर अनुभव गर्दा उनलाई कस्तो मुस्किल परेको होला ? यो कुनै राजावादी लेखको मनसाय होइन, यो मात्र मानवीय अनुभवको अन्दाजको कुरो हो । के ज्ञानेन्द्रलाई सपरिवार अन्य देशमा पलायन हुन कसले रोक्न सक्थ्यो र ? के उनीलगायत उनको परिवारसँग सम्पत्तिको अनि सम्पर्कहरूको कमी थियो र ? आज संसारको कुनै पनि देशमा इज्जतका साथ व्यापार व्यवसाय गरेर सुख–सयलले बस्न सक्ने ल्याक्रमा रहेका ज्ञानेन्द्र नेपालमै हर एकबाट अपहेलित भएर बस्न किन रुचाए ? आफ्नो अधिकारको हनन भइरहेको भोग्न वाध्य रहेका ज्ञानेन्द्रको सो कार्यमा कत्तिको राष्ट्रियता झाङ्गिएको होला भनेर किन कसैले साोचेनन् ? नेपालमा वास्तवमा भन्ने भए ज्ञानेन्द्रजत्तिको राष्ट्रभक्त कोही छैनन् भन्नु अत्योक्ति पक्कै हुँदैन । यो राजावादी सोच होइन, एक यथार्थपरक निचोड हो ।
छाताको टुप्पोलाई लठ्ठीको रूपमा प्रयोग गर्दै अगाडि बढेका वृद्ध केदार लामिछाने केहीबेर सुस्ताउँदछन् । उनलाई सायद नेपालमा आफूले भोगेका तीतो अनुभवहरूको फेहरिस्त नै सुनाउनु थियो । ‘…..बाजेलाई त त्यस्तो गाह्रो भएछ, त्यस्तो अप्ठ्यारो अवस्थामा दैनिक जीवन यापन गर्न, भने पूर्वराजा ज्ञानेन्द्रलाई कस्तो भयो होला ?’ वृद्ध लामिछाने एकपटक छक्क पर्दछन्, उनलाई सायद त्यस्तो प्रश्नको अपेक्षा थिएन । केहीबेर घोरिएर भन्दछन्, ‘ज्ञानेन्द्रको अवस्थासँग हामी आमजनताको अवस्थालाई तुलना गर्न मिल्दैन बाबु ।’ उनी तटस्थ लाग्दछन्, आफ्नो अवस्थाको अनि वर्तमान नेपाली परिवेशको दोषको भागीदार उनले राजपरिवारलाई पनि दिन चुकाएका थिएनन् । ‘..सायद तपाईं सही भन्दै हुनुहुन्छ होला, बाजे । त्यो राजाहरूलाई दुख्ने मुटु हुँदैन होला ।’ त्यसपछि वृद्ध लामिछाने चुपचाप घोरिन्छन् ।