राजनीतिक सन्दर्भका स्वप्निल लासहरु

प्रकाशित मिति ६ फाल्गुन २०६८, शनिबार १५:०५ घटना र विचार (न्युज डेस्क)

-प्रकाश के.सी.
एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुन्गुनाउन थाल्दछिन् ‘….मै छोरी सुन्दरी, कसरी भरुँ पानी…‘, आफ्नी विदेशी श्रीमतीको अवोध पन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रुपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँदछन् र समयको रङ्गीन कलेबरमा अनायासै हात परेको जीवनको नयाँ अध्यायलाई समेट्न थाल्दछन् । जीवनमा समयहरु एक प्रकारले महत्वपूर्ण भएको ठान्दै हरेक पलको उत्तम उपयोग गर्ने प्रण आफ्नो रहेको बताउँदा त्यसमाथि सहमत हुनलाई आग्रह गरेजसरी आँखाले, सोफामा लम्पसारिएका राघवलाई हेर्छिन् मार्था । राघव, ‘..वास्तवमा हात पर्ने अवधि नै जीवन हो, मेरो विचारमा..’ भन्दै विस्तारै मायाले प्याट्ट मार्थाको गोह्रो गालामा हिर्काउँदछन्, लण्डनस्थित क्याम्डेनटाउको आफ्नो अपार्टमेन्टमा । त्यसको सात हजार तीन सय चालीस किलोमिटर पर, काठमाण्डौस्थित जोरपाटीमा रहेको एक बुटिक सपभित्र प्लास्टिकको झोलामा विहानको खाजा बोकेर १७ वर्षीया करिस्मा पस्दै गर्दा ४३ वरि्षया आमा नन्दिता क्षेत्री नजिकैको टेबुललाई खाली पार्न थाल्दछिन् । सानै उमेरमा पनि दोब्बर जिम्मेबारी लिँदै आएकी छोरीको परिपक्वताले कहिलेकाहिँ आमा नन्दितालाई निक्कै नै उदासीन बनाउँदछ, छोरीको उमेरजन्य पनलाई मास्न वाध्य भएकोमा अभिभावकको नाताले आफू असफल भएकी नन्दिता बाराम्बार सोँच्ने गरेकी बताउँछिन् । ‘..सम्झौताको अर्को नाम नै जीवन रहेछ, मेरो अनुभवमा,..’ आईडीडी कलमा केही पल, जस्तो सम्वेदनशील बनिन्, नन्दिता ।

माथिको दुई परिस्थिति र परिवेशलाई जोड्ने समयको शुरुवात एघार वर्षअगाडि अर्थात् १ जुन, २००१ काठमाण्डौबाट भएको हो । राघव क्षेत्री लाजिम्पाटस्थित एक निजी कम्पनीमा सँधैजसो सखारै पुगेका थिए । जीवनमा वैवाहिक जीवन एक आम नेपाली परिवारसरह नै सामान्य रुपमा चलेको थियो । राम्रो योग्यता र कडा परिश्रमले पनि खासै भन्ने भए राघवको परिवारलाई सन्तोषजनक किसिमले चलाउन नसकेको उनले तब पनि सकारेकै थिए तर नेपालको लागि आम हुँदाहुँदै पनि केही गर्ने धोको उनको मनबाट हराएको थिएन । स्वर्गीय बाबुको जस्तो नाम छोडेर जान नसक्ने लागे तापनि विभिन्न प्रकारले आफ्नो नामलाई चम्काउनतर्फ उनी अग्रसर भएर लागेकै थिए । जीवनमा सफलतालाई बुझ्ने र त्यसरी परिभाषित गर्ने आआफ्नै शैली हुन्छ भन्ने बुझ्दै राघव आफ्नो प्रकारको परिभाषाले आफ्नो जीवन सार्थक बनाउने प्रयत्नमा लाग्दै गर्दा उक्त जुन ०१ तारिख, एउटा कम्पनको रुपमा उनीलगायत तत्कालीन हजारौं होनहार युवाहरुको हृदयमा परेको थियो । पत्याउनै नसकिने गरेर तत्कालीन राजपरिवारको समूल परिवारको हत्या भएको थियो । काठमाण्डौ, जस्तो ठप्प अनि निश्चल भएको थियो भने मुलुकको लागि केही गरी बाबुको जस्तै नाम चम्काउने प्रण गरेका राघवको विश्वास एक्कासी छिन्नभिन्न भएको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत उनको सरकारले तत्कालीन समयको अत्यधिक कालो उक्त दिन र उक्त घटनालाई रहस्यपूर्ण घटनाको रुपमा संसारमा चिनाउनबाहेक केही गर्न सकेनन् । परापूर्वको कोतपर्वको व्याख्या आउँदा, सो बेलाका आम जनता कति निरीह रहेछन् भन्ने सोँच्ने एक प्रकारले विकसित भइसकेको मान्ने आम जनताहरु पनि कालान्तारमा उस्तै तोपपर्व ताकाका जनतासरह भेँडा मात्रै लाग्ने गरी आगामी दरसन्तानका मनमा पर्ने इतिहासको रुपमा आवद्ध भएका थिए सो घडीपर्यन्त । राघव भन्दछन् –‘मलाई लाग्थ्यो, अब केही हुन्छ, तहल्का मचिन्छ, देश छिन्नभिन्न हुन्छ, माओवादीको राज यत्रतत्र हुन्छ, त्योभन्दा अगाडि जनता स्वःस्फूर्त रुपमा आन्दोलित हुन्छन् । तर सामान्य केही प्रतिक्रियाबाहेक केही भएन अनि त्यो केही विशेष होला कि होला भन्दै नभइरहेको अवस्था यत्तिको कष्ठकर थियो कि, मैले र मेरा धेरै जमातका साथीहरुले सजिलै पचाउन सकेनौं र जीवनमा जीवनलाई नयाँ किसिमले तबदेखि सोँच्नथाल्यौं ।’ खासगरी आफूलगायत आफ्नो एक समूल परिवारलाई आफू स्वयंले धान्नेहरुलाई हरेक अप्रासङ्गिक, अप्राकृतिक अनि अप्रयासित अवस्थाहरुले एक्कासी पोल्ने गर्दछ । मुलुक तत्कालीन अवस्थामा माओवादी विद्रोहले गर्दा आततायी थियो । माओवादी अनि नेपाली सेनाको संक्रमणमा युवामनहरु अस्वस्थ बन्दै गएको त्यो त्यस्तो अवस्था थियो, जब शान्त जीवन अनि सम्पन्न जीवनको वाहानामा हजारौं युवाहरु मुलुकबाट निकासा खोज्दै गरेका थिए । केही गर्ने प्रण गरेकै पलमा पनि पारिवारिक सहमतिमा पारिवारिक खुशीको लागि सयौं युवाहरुसँगै २००१ कै सोउपरान्तको अर्को महिना अर्थात् जुलाईमा राघव अमेरिका भास्सिन वाध्य भए । राघव सम्झन्छन् –‘भविष्य तत्कालका लागि उज्ज्वल लाग्ने देखेको भए तापनि एक अति नै अनौठो पीडा यस्तरी छातीभित्र उब्जिन थालेको थियो कि, परिवारलाई सदाकै लागि गुमाउँदैछु, उक्त यात्रा नै अन्तिम यात्रा हो कि जस्तो लागेको थियो ।’ जन्मेको ठाउँ, सपनाहरुका महलहरु सजाएको ठाउँ, माया गरेको र माया लगाएको ठाउँ, ठोक्कर लागेको अनि आफै आँशु पुछेको ठाउँ र साथमा आफ्नो परिवार अनि सानी छोरीलाई त्यो बेला छोडेर जाँदा, जुन बेला मुलुक जे पनि बन्न सक्थ्यो, कसको मन अस्थीर रहँदैनथ्यो र ?

‘सानी छोरीको भविष्यको चिन्ता, सन्त्रस्त तत्कालीन आफ्नो पारिवारिक यथार्थ, अनि आकाशजसरी दिनप्रतिदिन चुलिएको लाग्ने महङ्गी र अति नै अस्तव्यस्त तथा आक्रामक लाग्ने तत्कालीन सामाजिक परिवेशलाई पचाउन सकिएन, हुनसक्छ, त्यही परिवेशले हामीलाई खाएको होस् । हामी परिवारलाई केवल आफ्नै रहरको सानो पुलिन्दामा आफ्नै सामर्थ्यले बलियोसँग बाँध्न चाहान्थ्यौं, त्यसैको प्रभावमा त्यसरी हामी आफ्नो वैवाहिक जीवन बिताउने प्रण सजिलैसँग गरेका थियौं । जिन्दगीलाई सम्झौताको जलपले सिँगार्नै पर्ने रहेछ, मैले त्यो घडी बुझेकी हुँ ।’ नन्दिता बितेका सम्झनाहरु खोतल्ने क्रममा निक्कै नै साहित्यिक बनेकी उनको गम्भीर तर वजनदार स्वरबाट सजिलै थाहा लाग्दथ्यो । आफ्नो पाटाको जीवनलाई रङ्गीन सम्झनाशील आँखाले हेरेर उनी सायद बताउँदै थिईन् । बितेको डेढ दशकले तत्कालीन नेपाललाई के र कस्तो स्वरुपमा लगेको छ, त्यो सर्वविदितै छ, तथापि आम तर योग्य नेपाली मानसिकतामा उक्त डेढ दशकले कस्तो प्रभाव पारेको छ त भन्ने सन्दर्भलाई हेर्ने सानो प्रयत्नस्वरुप यो रिपोर्ट तयार गरिँदै छ ।

एक स्पोन्सरको भरोसामा अमेरिका भित्रिएका राघव त्यहाँ पनि दुई महिनाले गर्दा ढिलो बन्न पुगे । विल क्लिन्टनले पास गराएका आप्रवासीसम्वन्धी एम्नेस्टीको म्याद सन् २००१ को अप्रिलबाट सकिएको थियो, जसले एक निश्चित समयसम्म अमेरिकी सरकारलाई कर तिरेर रहनपुगेका आप्रवासीहरुले ग्रीन कार्ड निश्चय नै पाउने त्यो आधारको अन्त्यपछि राघवलगायतकाले अर्को एम्नेस्टी नबनुन्जेलसम्म आफूहरु पर्खने भन्दै सोही अवस्थाको कागजमा हस्ताक्षर गर्न पुगेका थिए, जसलाई बुश प्रशासनले कहिल्यै गम्भीरताका साथ पूनराअवलोकन गर्नु पर्ने आवश्यकता देखेन र त्यसको आशामा रहेका अन्यजस्तै राघवको पनि आफ्नो भीसाको म्याद गुज्रेको थियो । त्यसको लगत्तै आफूलाई शरणार्थीको क्याटागोरीमा दर्ता गराउन सफल भएको भए तापनि स्पोन्सर साउको दयामा दश वर्ष, श्रीमती, छोरीलगायतका परिवारहरुको सम्झनामा साँझहरु रक्सीमय बनाएर बिताउन वाध्य भए । त्यहाँ पनि केही हुन्छ कि भन्ने आशामा रहँदा-रहँदै अनुहारभरि समयको क्रुर छाप तेज गतिमा बढ्दै गएको समयमा राघव जीवनमा भोग्न नपाएका हजारौं पलहरुको लागि अग्रिम रुपमै शोक मनाउन थाल्दथे । एकपटकको जीवन त्यसरी अस्तव्यस्त होला भन्ने कलेज जीवनमा आफूले पटक्कै नसोँचेको बताउने राघवले एकपछि अर्को गर्दै आफ्ना सपनाहरु भत्किरहेको बाराम्बार महशुस गरेको बताउँदछन् र उनलाई लाग्दछ, जस्तो भोग्यो त्यस्तै नै जीवन हो भने जीवन दिक्कलाग्दो रहेछ भन्ने उनको खोज हुनेछ ।

राष्ट्रियताको भावना तब प्रवल लाग्दछ, जब अन्य मुलुकमा आप्रवासी भई रहन वाध्य भइन्छ भनेर धेरै विद्वानहरुले बारम्बार लेखेका, बोलेका छन् तर विदेशी मुलुक, खासगरी सम्पन्न विदेशी मुलुकमा त्यहाँ रहने अनि भास्सिने प्रयत्नमा मानिसहरु त्यही राष्ट्रियताको भावलाई तिर्ण अनि जीर्ण बनाउँदछन् । नेपालमा राजा वीरेन्द्र परिवारको सर्वनास भएपछि समस्त राजनीतिमा पनि त्यसकै हाराहारीमा सर्वत्र विनासहरुको शुरुवात हुनथाल्यो । माओवादीहरुको दबाब तीब्र हुनथाल्यो भने अनि मूलधारका मानिएका पार्टीहरुबीच राष्ट्रिय साझा महत्वमा पनि एक मत हुन सकेन, तर त्यही अवस्थामा नै माओवादीहरुको मूल राष्ट्रिय धारमा प्रवेश भयो । नेपालको तत्कालीन वा नेपालको आधारभूत व्यवस्थालाई कुनै पनि आधारमा नमान्ने माओवादीहरु त्यही व्यवस्थाको भित्र, त्यही व्यवस्थालाई आधार बनाएर आए पनि समस्त राजनीतिमा त्यसले अन्यौल परिवेशबाहेक केही दिन सकेन, त्यसकै प्रतिफल हो, तत्कालीन राजा ज्ञानेन्द्रले देशको बागडोर आफ्नो हातमा लिन सक्षम भए । जनताहरु नै राजनीतिक पार्टीगत अस्तव्यस्ताले आक्रान्त भएको लाग्ने अवस्थामा राजाले शक्ति आफ्नो हातमा लिए तापनि गलत सहयोगीहरुको साथले गर्दा आफै नै मूलधारबाट बाहिरिन वाध्य भए । यसरी नेपाल विविध शैली र प्रयोगबाट परिवर्तित भइरहने अवस्थामा भने, परिवारलगायत पारिवारिक जीवनमा स्थायीत्व खोज्ने लाखौं जनताहरु विक्षिप्त भइरहेका थिए । त्यही बेलामा नेपालबाट विदेशमा लाखौं नेपालीहरु भास्सिएका थिए । माओवादी कहरको क्रुर पन्जाबाट फुत्केर आएको बाहाना बनाउँदै नेपालीहरुका भव्य व्यक्तित्वहरु विदेशी मुलुकमा शरणार्थी भएर भविष्यको जोहो गर्न लाग्दै गर्दा भने त्यही संक्रमित नेपालमा त्यही संक्रमित हालातमा रहँदै जिजीविषा धान्न आआफ्नो ल्याकतले मूलधारका नेपालीहरु चलायमान भएका थिए । नन्दिताले पनि सानो बुटिक सप शुरु गरिन् । मानिसहरु परिवेश र परिस्थितिजन्य बन्दो रहेछ, त्यस्तै नन्दिता आफू पनि बनेको बताउँदछिन् । कहिलेकाहिँ हप्ताको एक या दुई दिन बडो डर र मुश्किलले दोकान खोले तापनि व्यापार शून्य भई गहनाहरु बेची भाडा तिर्नु परेको बताउने नन्दिता, जे र जस्तो अवस्था भए पनि त्यसको भरपूर सदुपयोग गर्न पछि नपरेकी आफ्नो कथा भन्ने क्रममा बताउँदछिन् । उनी सानी छोरीलाई बोकेर लाहुरेको घरघरमा पुगी तिनका श्रीमती तथा छोरीहरुलाई श्रृंगार गर्ने काम, केही लामै समय गरेकी घटना निक्कै रोचकताका साथ भन्छिन् –‘कसैलाई समस्या र अभाव फालाफाल त कसैलाई साधन र श्रोत नै फालाफाल ! सानी छोरीका मनभरि जमेर रहेका रहरहरुलाई आमा भएको नाताले सजिलै बुझ्न सके तापनि विवश भई अबुझ बन्नु जस्तो पीडादायी, लोग्ने साथमा नहुँदाको अवस्था पनि लागेन ।’ राघवले अमेरिकामा दिनरात कम पारिश्रमिकमा पनि काम गरी बिस्तारै पैसाहरु नेपाल पठाउन थालेपछि भने नन्दितालाई केही ठूलो राहत मिलेको थियो । छोरीलाई राम्रो स्कूलमा त पढाउन सकिने भइयो भन्ने सन्तुष्टी उनलाई तत्काल महत्वपूर्ण लागेको थियो । यता नेपाली चाडपर्वहरु परिवारको सम्झनामा भक्कानिएर रक्सीमय बनाई बिताउनुबाहेक अन्य विकल्प आफूले देख्दै नदेखेको राघव भावुक हुँदै बताउँछन् भने आफ्नो लोग्नेको आवाजमा आएको परिवर्तन र भाषालाई बुझ्न कोशिस गर्दा नसकेपछि मार्था झर्किँदै सोध्छिन् –‘तपाईँहरुले मेरोबारेमा कुरा गरेको त होइन ? अंग्रेजीमा बोल्नुहोस्, तपाईँहरु दुइटै ।’ राघव त्यसपछि हाँसिदिन्छन् । लाग्थ्यो, हाँसो पनि खुलेर नआउने गरेर उनी सान्दर्भिक भइसकेका रहेछन् आफ्नो बितेका पलहरुको सम्झनासँग ।

माओवादीको संलग्नतामा र अगुवाइमा सरकार बनेको पनि यो दुईपटक हो । आततायी बनेर कहलिएका माओवादीहरुकै सरकार हुने बेलामा पनि नेपाली मूलधारको परिवेशमा भने सामाजिक स्थीरता आएको छैन । हरेक पार्टीहरुले आफ्नो पार्टीको स्वार्थको लागि मात्र सोँच्ने र तदनुरुप लाग्ने भएकोले पनि मुलुकमा शान्ति अझै छाएको छैन । आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेका पार्टीहरुको तरङ्गबाट आम जनताहरुका सोँच पनि पृथक रहन सकेको छैन । त्यसरी लामो प्रहरसम्म अमेरिकामा ग्रीनकार्ड पाउने प्रलोभनमा वा आफ्नो शरणार्थी केसको सुनुवाइ सकारात्मक हुने आशामा बस्दाबस्दा राघव हतासिन थालेका अवस्थामा आर या पार हुने गरेर अर्को मौकाको ताकमा रहेको बताउने क्रममा उनी अगाडि भन्दछन् –‘जीवन जस्तो भोग्यो, त्यस्तै हो रहेछ । परिस्थिति भनेको हावा हो र त्यसैको वहावमा आफूलाई वहन दिनु नै आजको युगमा वुद्धिमानी हो भन्ने मेरो अनुभव रहृयो ।’ अमेरिकामा जम्न सकिने अवस्था नाजुक बन्दै गएकोले राघव यूके छिर्ने दाउमा रहन थाले गत वर्ष मात्रै । त्यसको लागि एक यूकेकै बासिन्दा युवतीसँग हेलमेल बढाउन धेरैपहिलेदेखि नै थालिसकेका थिए । नन्दिता सझिन्छिन् –‘कतिपटक उहाँलाई अब र्फकनुस् भने तापनि उहाँ भन्नुहुन्थ्यो, त्यतिका वर्ष बिताइसकेपछि पनि विदेशमा रहने जुगाड नगरी कसरी र्फकनू ?, त्यसै भएर पनि हुनसक्छ, मैले उहाँलाई उहाँले सोँचेजस्तो नगर्न कहिल्यै भनिनँ । वैवाहिक मूल्य र मान्यताहरु नै खल्बलिने गरेर गरिने उपायहरुमा म चुपचाप नै बसेँ र बसिरहेको पनि छु । जिन्दगी भनेको सम्झौता रहेछ, त्यसैले भन्छु म अब । यत्तिका वर्ष छुटि्टएर बसिसकेपछि अब केही वर्ष किन नपर्खने भन्नेतिर लागेर उहाँलाई सघाएँ ।’ हो, नन्दिताको सहमतिपछि राघव मार्थासँग नजिकिएका थिए र त्यसलाई पक्का बनाउने क्रममा लागी परे । अवसरहरुको खोजी गरिने प्रयत्नमा खासगरी विदेशी भूमिमा वैवाहिक मूल्य र मान्यताहरु अनि राष्ट्रियता तथा स्वाभिमान आदि गौण भएर रहने रहेछ भन्ने राघव सम्झन्छन् । आखिरतः मार्थालाई कानूनी रुपमा विवाह नै गरेर त्यसैको भरमा उनी यूकेमा स्थायी नागरिक भएर छिरेका छन् । यो विवाहलाई भने, नन्दिता सिर्फकागजी विवाह ठान्दछिन्, अझै । विवाहलाई बाटो प्रशस्ती गर्नको लागि उनले नै नेपालबाट आफ्नो र राघवको सम्वन्ध विच्छेद भएको कागज बनाएर पठाएकी थिईन् । उनलाई लाग्दछ, विदेशीहरु, नेपालीहरुजस्तो वैवाहिक सम्वन्धमा त्यसरी गम्भीर हुँदैनन् र त्यहाँबाट सम्वन्ध टुटेपछि, राघव मुक्त हुन्छन् । विश्वासले नै सृष्टिलाई धानेको हुन्छ तर विश्वासमा कति धैर्यशील हुने भन्ने व्यक्तिगत क्षमताको अवस्था हो । राघवले पनि त्यस्तै सोँच्दासोँच्दै वा विश्वास राख्दाराख्दै मार्था गर्भवती भएकी थिईन् र अहिले एक सानी मायालाग्दी छोरीकी आमा बनिसकेकी छिन् जुन सम्वन्ध अब यस्तो पक्का अनि जेलिँदो डोरीसरी बनेको छ कि, राघव दिनप्रतिदिन जेलिनुबाहेक अन्य केही गर्न सकेका छैनन् । ‘उपायहरुको अभावमा जीवनलाई जसरी चल्छ, चलाउनुबाहेक अन्य योजनाहरु बनाउन म असफल भएँ ।’ यो उनको वास्तविक तथा यथार्थिक निचोड थियो ।

गत २००९-१० मा नेपाल राष्ट्र बैंकले निकालेको एक तथ्याङ्कअनुसार विदेशबाट लगभग सत्ताईस लाखको संख्यामा रहेका नेपालीहरुले आफ्ना परिवारहरुलाई २३१.७३ बिलियन नेपाली रुपैंया पठाएका थिए र त्यो क्रम झन् बढ्दो छ । गत साल अर्थमन्त्री भरतमोहन अधिकारीले ३८४.९० बिलियन नेपाली रुपैंयाको बजेटलाई सार्वजनिक गरेका थिए । नेपाल सरकारले करहरुबाट अशुल गरेको रकमहरु, उक्त बजेटमा ६३ प्रतिशतले आफ्नो स्थान ओगटेको थियो भनिएको छ । विदेशी अनुदान १८ प्रतिशत, विदेशी रिन ६ प्रतिशतसहित आन्तरिक श्रोतबाट उठाइएको रिन १० प्रतिशत पनि सोही बजेटभित्र परेको भनिएको सो बजेटमा रेमिट्यान्सको भाग कति थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अहिलेको परिवेशमा विदेशी मुलुकहरुमा श्रमशक्तिको रुपमा आफ्ना नागरिकहरुलाई उपलब्ध गराउने मुलुकहरुमा नेपाल मुख्य देशहरुको लहरमा पर्न आएको छ । तब पनि नेपालमा सही र प्रभावकारी नीतिको सोही विषयमा तर्जुमा गरिएको छैन । दूतावासको अभावमा, अनि सशक्त नियमको अभावमा लाखौं नेपालीहरु विदेशी भूमिमा शोषित भइरहेको अवस्था एकातिर छ भने, इन्टेलेक्च्युअल प्रोपर्टी मानेर अवसर प्रदान गरिनु पर्ने ल्याकतमा रहेका अन्य हजारौं हजारहरु विदेशी भूमिमा हराउन पुगेका छन् । त्यसले नेपालको समूल विकासमा कत्तिको नोक्सानी गरेको छ भनेर गम्भीरताका साथ खोजबिन पनि गरिएको छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइने नेपाली श्रमहरुको सही व्यवस्थापन हुनु पर्ने र त्यसलाई आधिकारिक रुपमा सरकारी स्तरबाट अवलोकन गर्नु पर्ने आवश्यकतालाई आफ्नो सरकारले गम्भीरताका साथ लिएको बताएका भए तापनि आजपर्यन्त सोसम्वन्धी कुनै ठोस कदम चालिएको छैन । नेपालको एक होनहार व्यक्तिको मुलुकबाट हुने पलायनतालाई संख्याको हिसावबाट हेरिनुहुँदैन । त्यसले र त्यसको लहरले कालान्तरमा पर्ने राष्ट्रिय नोक्सानीको महत्वउपर सरकार सम्वेदनशील हुनुपर्दछ । राघवजस्ता योग्य व्यक्तित्वको पलायन संक्रामक हालातमा रहेको मुलुकबाट हुँदै जाने हो भने, ६०१ जना जस्ता बाहुबलको पर्याय र आधारले सदनमा भित्रिएका नीति निर्माताहरुबाट बन्ने नीतिनियमहरुले देशको भविष्य कस्तो देखिएला भनेर आरामैसँग कल्पना गर्न सकिन्छ । त्यही ६०१ जनाको लहरबाट उठेर मन्त्रीसम्म बनाइएका व्यक्तिबाट ८०० वटा जिल्लाको परिकल्पना गरिनु पनि उही ६०१ उब्जनीको आधार हो भन्न सकिन्छ ।

अवसर र आधारको खोजीमा यो कालमा नभौतारिनेहरु कमै होलान् र त्यही जस्तै केही कट्टर देखिने गरी यूके भित्रिएका राघवलाई वर्तमान बेलायती अवस्था र प्रेमपूर्ण उनको दाम्पत्य जीवनले अनौठोसँग विमुढ बनाएको हो, राघव स्वीकार्दछन् । कागजपत्रहरुलाई एकत्रित गर्दा-गर्दै अनि सोही गतिमा विभिन्न स्थानहरुमा विभिन्न रुप र हालातको काम खोज्दा-खोज्दै मार्था गर्भवती बनेकी थिईन् । अब, यहाँ काम खोज्दै गरेको अवस्था र मार्था गर्भवती हुन पुगेकी अवस्थालाई एकाकार गराउन खोजिएको नभई सान्दर्भिक यसरी बनाइएको हो कि, त्यो अवस्थाको शुरुवात काम खोज्नुजस्तै गरी आततायी राघवलाई लागेको हो । विदेशीहरु सांसारिकतामा तिनको वैवाहिक जीवनलाई क्षणभंगुर सम्झने नन्दिताको भरोसाको आधार अनायासै खस्केको त्यो यस्तो दिन थियो कि, जसको बारेमा राघवले आजपर्यन्त सूचित गर्न सकेका छैनन् । सांसारिकतालाई एकअर्कासँग पारस्परिक बनाउन सक्षम एक छोरीको रुपमा भर्खरै मार्थाको कोखबाट जन्मेपछि वास्तवमा भन्ने भए आफू अब भने योजनाविहीन भएको राघव बताउँदछन् भने, नन्दितासँग एक पूरा जीवनको जस्तो सम्पूर्ण योजनाहरु छन्, बितेका दशकभित्र दाम्पत्य सुखको नाममा आफूले गुमाएका समयहरुको भर्ताल गर्ने सोँचका साथमा बितेका वर्षहरुलाई नरमाइलो सपनाजसरी भुलाउन सकिने योजनाहरु बुन्दै हतारिएर समय गुजार्दै गरेकी नन्दितालाई योजनाविहीन बन्दै गएका राघवको मानसिकताको बारेमा केही पत्तै छैन । विछोडिएका शुरुका वर्षहरुमा जुन अनुपात र अनुरागका साथ साटिएका वार्तालापहरु थिए, त्यो अहिले दुबैले नै भुल्दै गरेको दुबैलाई लाग्न थालेको छ भने, अनौठोसँग मार्थाको संस्कृतिलगायत चालचलनहरुभित्र नचाहँदा-नचाहँदै एकाकार हुँदै जानु आफ्नो वाध्यता मात्र नभई अब अहिले समर्पण बढ्दै गएको राघव बताउँदछन् । धर्म व्यक्तिभित्रको सत्यको प्रदर्शनी हो र त्यो सत्य कहिल्यै संकीर्ण नहुने विश्वास दिनप्रतिदिन प्रवल हुँदै जानु र क्रिश्चियन धर्मभित्रका परिचलनहरुले मन लोभ्याउँदै जानु पनि उनी आफ्नो मार्था र सानी बच्चीप्रतिको समर्पण भन्न रुचाउँछन् । तर त्यही सत्यको प्रदर्शन भने अझै दुबैतिर अनि आफैसँग पनि गर्न सामर्थ्य जुटाउन सकेका छैनन् । नन्दिता र करिस्माको बारेमा न त उनी अहिले सविस्तारसँग मार्थालाई भन्न सकेका छन् न, मार्था र सानी छोरीको बारेको सम्वन्धलाई नन्दितासँग नै खुलाउन सकेकाछन् । गीतामा लेखिएअनुसार …..’जे भइरहेको छ्, ठीक भइरहेको छ र जे हुने छ, त्यो पनि ठीकै हुनेछ’ भन्ने उक्तिलाई सत्य होस् भन्ने कामना हरेक दिन गर्न भने भुलेका छैनन् राघव । कफीको तीतो स्वादलाई क्याम्डेन रोडको चहलपहल अनि हतारतिर मिल्काउँदै मुक्त हुन खोजेसरी आङ तन्काउँदै भन्छन् –‘हतारमा जीवनलाई ढुक्कसँग बुझ्नै सकिएनछ, बिगतमा भन्ने अहिलेको मेरो स्थीरताले सुझाएको छ ।’

आफ्नो र जेठी श्रीमतीको नाम गोप्य राखेर भए पनि आफ्नो हालातको असमञ्जस परिस्थितिलाई सार्वजनिक गर्नका लागि उक्साएका राघवकै आकाङ्क्षाअनुसार, नन्दितालाई पनि राघवको वर्तमान हालातमा खुलासा गर्न सकिएन तर उनको भविष्यको योजनाको बारेमा सुन्दा मन त्यसै अमिलो भएर आएको छ । आफू पढेर डाक्टर हुने लक्ष्य राखेकी करिस्मा, दुःख, अप्ठ्यारो जेजस्तो भए पनि आफू भने श्रीमानबाट एक्लिएर नबस्ने आफ्नी आमाको अगाडि खुल्लै भन्छिन् । उता सो भनाइले नन्दिताले के र कस्तो प्रतिक्रिया जनाईन्, थाहा छैन, तर प्रत्यक्षतः भनिन् –‘असमयमा मेरी छोरी प्रौढ बने पनि जीवनमा आइपर्ने हजारौं अरुचिकर हालातको बारेमा केही थाहा छैन । यसलाई जीवनमा सम्झौताहरु कति गर्नु पर्दछ भन्ने केही अनुमान नै छैन । के गर्नु, हाम्रो पालामा नेपाल नै यस्तै भइहाल्यो, यिनीहरुको पालामा यिनले भोग्ने नेपालमा एक प्रकारले स्थायित्व आवोस्, त्यही कामना गर्दैछु ।’ राघव आफ्नो हालात र वाध्यता अनि यथार्थको खुलेरै भन्न केही सक्दैनन् । समाजले व्याख्या गरेर उचित अनि अनुचित भनाइएको अवस्थाहरुलाई सोही अर्थमा उनी बुझ्न चाहान्नन्, सायद यो क्षेत्रीको विवशता हुनसक्छ यो उनी साधारणतया बुझ्पचाउन खोज्दैछन् जिम्मेदारीको, तर खुल्न नचाहँदा पनि उनको हालातलाई सजिलै अनुमान गर्न सकिन्छ । धेरै लामो मौनतापछि उनी बोल्दछन् -‘लामो समयको ग्यापको प्रभाव हुनसक्छ, त्यत्ति साह्रो पोल्दैन अचेल घरको सम्झनाले, किनकि, अमेरिकामा आफूले दुःख गरेरै भए पनि नेपालमा परिवारको सुखको राम्रै जोहो गरिदिएकै हुँ, यत्ति हो कि, सोँचेजसरी योजनाहरु सफल भएनन् र बाँकी थाँती रहेका समयहरुलाई कसरी जोडूँ, त्यो सोँचले भने बाराम्बार जलाउँदछ । पहिला नेपाल र्फकन र फर्केर फेरि उता जान मिल्ने व्यवस्थाको अभावमा दिनप्रतिदिन नेपाल फर्केको सपना देख्नेले अहिले नेपाल र्फकन र फेरि त्यताबाट यता र्फकन मिल्ने कानूनी अवस्थाले व्यवस्थित भइसक्दा पनि नेपाल यही हालातमा फर्किहाल्न सक्ने आँट जुगाड गर्न सकेको छैन । त्यसैले नै आफूलाई परिस्थितिको भरमा छाडिदिएको छु, अब त्यसले जता लान्छ, त्यतै बहँदैगर्छु ।’
-लण्डनबाट

Leave a Comment

Your email address will not be published. Required fields are marked *