– प्रकाश के.सी.
प्रकाशित मिति १९ जेष्ठ २०७२, मंगलवार २०:२२ घटना र विचार (न्युज डेस्क)
लन्डनको अलिकति बाहिरको ‘साउथ–बकको राउन्ड अबाउट’ काट्नेबित्तिकै हरेक बिहान साढे ६ बजे देखिने रामकृष्ण महर्जन आज पनि देखिएनन् । उनले चलाएर आउने दूध बोक्ने ‘मिल्क फ्लोट’ भ्यान आज पनि उही कालेले चलाएर आएको थियो । साविकको ठाउँमा पुगेपछि कारको सिसा खोलेर त्यतातिर हेर्दै उठ्ने मेरा हातलाई यसपालि अर्थात् चौथो दिन पनि, काले चालकले नजरअन्दाज गरेर अगाडि हुइँकियो । रामकृष्ण महर्जनको हँसिलो अनुहारसहितको बिहानीको खासगरी मलाई बानी परिसकेको हुँदो हो, अर्कै अनुहारले यो हप्ताको पूरा चार दिनको सुरुवात नै बिगारेको छ । मुस्किलले नेपालीे देखिने मोडमा देखिने गरेका रामकृष्ण, हप्ताको पाँच दिनको, सुरुवाती दृश्यको अनुयायी पहल बनिसकेका रहेछन् । भोलि पनि देखिएनन् भने उक्त कालेलाई रोकेर सोध्ने अठोटका साथ अगाडि हुइँकिएको छु ।
महिनौँ दिन बितेको छ, नेपालमा भूकम्प गएको । बेलायती समाचारहरूमा नेपालसम्बन्धी समाचार आउन अझै छाडेको छैन । चोक, गल्ली अनि हाइस्ट्रिटहरूमा नेपालका लागि चन्दा राख्ने बक्स लिएर उभिने नेपालीलगायत स्थानीयहरू अझै देखिन छाडेका छैनन् । जताततैका एटीएम मेसिनहरूमा नेपाली भूकम्पपीडितहरूलाई राहतस्वरूप केही दिनका लागि लेखिएका सूचनाहरू अझै हटेका छैनन् । टीभी तथा रेडियोहरूमा विभिन्न ‘सेलिब्रेटी’हरूले नेपालका लागि चन्दा माग्न छाडेका छैनन् । नेपालको भूकम्पको पीडा, जस्तो बेलायती पीडा होस्, या विश्वव्यापी दुखाइ होस् । सर्वत्र देखिएका छन्, देखाइएका छन्– रोइरहेका नेपाली महिलाहरू, झोक्राइरहेका नेपाली बूढाबूढीहरू अनि निन्याउरो अनुहारभरि टलपलटल गरिरहेका एक जोडी आँखा बोक्ने विचलित बालबालिकाहरू । वास्तवमा, बितेको महिनादेखि एक अर्थमा नेपालीलाई हेर्ने नजरमा परिवर्तन आएको छ पक्कै नै । एकातिर वीरतापूर्ण इतिहासको हामी वर्णन गर्न अझै थाक्दैनौँ, हामीलाई त्यही इतिहासका पानाहरूमा लेखिएका पङ्क्तिहरूको हवाला दिँदै, अन्यले हामीलाई त्यो अर्थमा ‘अमर’ बनाएका पनि छन् । अर्कोतिर, सायद त्यसैको प्रभाव हुन सक्छ, हामी सकभर इमानदार बन्ने प्रयत्न गर्दछौँ, वफादारिता देखाउँदछौँ । …‘सकभर’ । समयको असहजपनमा हामी के गर्छौं, त्यो थाहा छैन, तर हामी, सकभर इतिहासका पानाहरूमा लेखिएका अक्षरहरूसँगै साविक हुने कोसिसमा हुन्छौँ । …‘सकभर’ ।
बच्चैदेखिको एउटा साथीले इमेल पठाएको छ, त्यसलाई अहिलेसम्म तीनपटक पढिसकेको छु । साथीले लेखेका पङ्क्तिहरूबाट पीडाहरू सर्लक्कै मेरो आँतमा घोप्टिएको छ । पीडाको आलोपनले मेरो संवेगलाई नै पूर्ण रूपमा डामेको छ । मेरो मानसिकतालाई आहत बनाएको छ । सहानुभूतिशील हुनका लागि जोड्नुपर्ने शब्दहरूको तलासमा छु सायद, पूरा दिन बितिसकेको छ र पनि साथीलाई जवाफस्वरूप इमेल पठाउन सकेको छैन । उसको पीडालाई कम दाँज्न मिल्ने पीडाको उदाहरण खोज्न सकेको छैन मैले । हरेकलाई आफ्नै भारी गह्रुँगो हुन्छ भनेझैँ उसको दुखाइलाई हल्का लिन अनि देखाउन सक्ने मेरो हालत छैन । मेरोतर्फ, मेरा सम्पूर्ण परिवारहरू, नजिकका नातेदारहरू सबैलाई ठीक छ, जायजेथा अटल छन् तर यो भूकम्प, जसले काठमाडौं, ललितपुर अनि भक्तपुरमा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दीयौँ पुराना भवनहरू, इतिहासका धरोहरहरू भत्काएको छ । भीमसेन थापाले बनाएका धरहरा ध्वस्त गराएको छ । काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्र कुरूप बनाएको छ, गोर्खा जिल्लाको बारपाक गाउँ पूरै जर्जर पारेको छ । लाङटाङ उपत्यका हिउँमा पुरिएको छ, सिन्धुपाल्चोकको सिपाघाट बजार अब बगर मात्र रहेको छ । यी जस्ता दर्जनौँ नेपाली गाउँ—बस्तीहरू उजाडिएका छन् । छिमेकीहरूका अनुहारमा कान्ती हराएको छ, जताततै भय व्याप्त छ । भूकम्पहरूको कम्पन आइरहने अनि गइरहने क्रमको निरन्तरता छ । घर भत्केको मानिसका पीर एकातिर छ भने, घर भत्किन सक्ने पीरले घरबाहिर सुत्नु परेकाहरूका पीर पनि उस्तै गाढा हालतमा छ । चिसोमा बस्नै नसक्ने बूढापाकाहरूका पीर तथा पीडाहरूको तुलना, झरी अनि हावा हुरी तथा स्याँठ चलेको बेला, अन्य कोहीसँग पनि गर्न सकिँदैन । सबैतिर उस्तै छ, देखिने र नदेखिने पीरहरूको कुरा नै बेग्लै । साथीलाई त्यसैले पनि जवाफ दिन सकेको छैन ।
लन्डनस्थित नेपाली दूतावासमार्फत, युकेबासी नेपालीले तदारुकताका साथ संयुक्त रूपमा राहतहरू सङ्कलन गरी नेपालका प्रधानमन्त्री राहत कोषमा एक करोडभन्दा बढी दाखिला गरिसकेका छन् । गैरआवासीय नेपाली सङ्घ बेलायतलगायत विविध जातजाति, क्षेत्र तथा भेषभूषा अनि समूहहरूका सङ्घसंस्थाहरूले आ–आफ्नो क्षेत्रबाट राहतस्वरूप सामग्रीलगायत एक करोड रुपैयाँभन्दा बढी सङ्कलन गरिसकेका छन् भने अन्य कतिले सीधै वा दूतावासमार्फत पठाइसकेका छन् । बेलायती जनताका तर्फबाट जोयना लुम्लेको अग्रसरतामा खर्बौं रुपैयाँ उठिसकेको छ । सरकारी तथ्याङ्कअनुसार, संयुक्त राष्ट्रसङ्घबाहेक विभिन्न राष्ट्रहरूबाट खर्बौं अमेरिकी डलर नगदको राहत नेपाललाई गइसकेको छ । एक तथ्याङ्कका अनुसार सम्पूर्ण नेपाली जनतालाई प्रतिव्यक्तिका दरले दिए पनि हरेक व्यक्ति करोडपति बन्न सक्ने बताइएको छ । तर, निश्चय नै सबै ती नगद राहत प्रधानमन्त्री राहत कोषमा पुगेका छैनन् । सरकारको तर्फबाट वा सरकारी आयोजनामा हुने राहत वितरणमा निश्चय नै समय लाग्ने हुन्छ, त्यसमाथि पनि नेपाल सरकारको काम त …‘सरकारी काम, कहिले जाला घाम’…. भन्ने लोकोक्तिजस्तै प्रसिद्ध छ । सरकारी यस्तै परम्परागत कार्यपद्धतिले गर्दा नै अहिले, पीडितहरूसमक्ष समयमा राहतहरू लान नसक्नुले गर्दा निक्कै नै विरोध, बदनामी, रोष आदि सरकारले बटुलिरहेको छ । तर, यो समयमा, हामीहरूलाई एउटा यस्तो ‘कवच’ प्राप्त भएको छ कि जसको आडमा हामी दोषारोपण गर्न सक्षम छौँ, आफ्नो हालतको ‘विजोग’ सक्दो प्राकृतिक रूपमा देखाउन तत्पर छौँ । बरु तीन–चार घन्टा हिँडेर बजार पुगी घन्टौँ लाइनमा बसेर एक–दुई पोका चिउरा वा चाउचाउ अनि एक–दुई बोतल पानी कृतज्ञ भएर थाप्न तयार छौँ, तर बिग्रेर भत्केका घरहरूमा सररफाइ गरी, लथालिङ्ग खेतबारी, बगैँचा वा करेसाबारीमा गोडमेल गरी यही बाँकी वा बचेखुचेकाहरूबाट जीवनलाई धान्ने क्रमलाई अगाडि बढाउन थालेका छैनौँ । वास्तवमा दोष यहाँ मिडियाहरूको छ, जहाँ हरेक पल बताइन्छ कि, फलाना देशबाट, व्यक्तिबाट वा सङ्घसंस्थाबाट करोड–करोडको दरमा भूकम्पपीडितहरूका लागि भनेर नगद राहत आइरहेको बताइन्छ भने, हामीलाई सुध्रिएको आफ्नो हालत देखाई ती ‘कुस्त’ रूपमा ‘भेटिन सकिने भनिएकोे’ राहतबाट वञ्चित हुनु अवश्य छैन । यति धेरै गुमाइसकेपछि पनि मानिसलाई सधैँ अर्को ‘केही गुम्छ कि’ भन्ने चिन्ता सदैव हुँदोरहेछ भन्ने लागिरहेछ । यतिखेर, हामी ‘मगन्ते’ भएका छौँ, हामी स्वाभिमानी रहेनौँ । भोको पेटमा वा खस्ता हालतमा स्वाभिमान सायद जमिनमै दब्दोरहेछ । इमानदारिता, वफादारिता अनि सीधासादापन सायद आवरण मात्र हुँदो हो । हामी सो ‘आवरण’लाई देहबाट त्याग गरेर माग्न जान्ने भएका छौँ । सरकारप्रमुख प्रधानमन्त्री कोइरालाले ‘मागेरै भए पनि जनताको भत्केका घरहरू बनाइदिने’ भनेका समाचारहरूमा ‘शीर्ष’ स्थानमा देखाइएका थिए । माग्ने क्रममा राष्ट्रसङ्घले, अमेरिकाले अनुमान गरेजति नदिएको गुनासो गरिएको छ, नेपाललाई करोडौँ दानस्वरूप दिएका भनेर समाचारमा आएका ‘सेलिब्रिटी’हरूले आखिरमा आधिकारिक रूपमा आफूले ‘नदिएको वा नदिने’ भनेको भरमा नै तिनको व्यापक विरोध र तिनका कामहरूलाई बहिष्कार गरिने क्रमहरू भएका छन् । दान दिने क्रममा ‘दानी’ बन्ने क्रियाकलाप देखाएकाले भारतीय सेना तथा मिडियाहरूको विरोध गरिएका छन् । भूकम्पको ‘कवच’को प्रभाव हुन सक्दछ, हामी राहत वा चन्दा वा दान वा सहयोगलाई आफ्नो ‘अधिकार’ मान्न थालेका छौँ, ‘भीख’ होइन । अहिलेको यो परिवेशमा सो अधिकारको हनन हुन नदिन, सायद त्यसैले हामी प्रतिबद्ध छौँ ।
देश छोडेको मैले पन्ध्रौँ वर्ष पुगिसकेको छ । जीवनको एउटा ठूलो अध्याय देशबाहिर काटिसकेको अवस्था हो यो । गैरआवासीय नेपाली सङ्घको प्रयास जारी रहेको सन्दर्भमा दोहोरो नागरिकता एक ‘त्यान्द्रो’ हुन सक्दछ, जसको अस्तित्वको ‘सम्भाव्यता’ले आधिकारिक रूपमा ‘गैरनेपाली’ भने हुन नदिएको यथार्थ मलगायत लाखौँ गैरआवासीय नेपालीको हो । बितेका केही समयबाट सरकारीसहित आमनेपालीबाट पनि गैरआवासीय नेपालीलाई एक ‘गैरनेपाली’ समूहको रूपमा नै हेर्ने गरिएको पनि यथार्थ छ । मेरो उही साथी जसको मार्मिक इमेल तीनपटक पढेर पनि जवाफ दिन नसकी ‘नाजवाफ’ भएको छु, ले केही अगाडि मलाई भनेको जस्ताको त्यस्तै याद आएको छ, जुन पक्कै नै यतिखेर त्यसलाई सम्झनु ‘घृष्टता’ हो, तर सन्दर्भ साथीको होइन, गैरआवासीय नेपालीलाई मूल नेपालीबाट हेरिएको दृष्टिको एक नमुना मात्र हो यो । साथीले भनेको थियो ‘….तँ यत्तिका लामो समय विदेशमा बसिरहेको छस्, चौकीदारी, कुल्ली, क्लिनरभन्दा माथि जान सकेको छैनस् होला, आखिर के कमाएको छस् तैँले ? विदेशमा बस्दैमा तँ आमनेपालीभन्दा पक्कै नै ‘एडभान्स्ड’ भएको छैनस् । हेर, मैले काठमाडौंमा तीनतले घर ठड्याएको छु, तीन करोडको लागत लागेको मेरो घर दुई वर्षमै पाँच करोड दिन आइसकेको छ । महिनाको मात्रै तीन लाख जति भाडा असुल्छु, यहाँ पनि कार चढेर हिँड्छु, स्टाफहरू छन् । तँलाई लाग्दैन, तैँले धेरै गुमाइस् विदेशमा भास्सिएर ?’ मैले त्यतिखेर जवाफ दिन नसकेर अहिलेजस्तै ‘नाजवाफ’ भएको थिएँ । त्यहीताका आरआर कलेज पढ्ने बेलाका एक साथीले फोनमा भनेका थिए, सन्दर्भ थियो उही ‘दोहोरो नागरिकता’को ….‘तिमीहरू देशमा अप्ठ्यारो परेको बेला भागेर बिदेसिएका हौ । वास्तवमा तिमीहरू ‘मतलबी’ हौ, ‘स्वार्थी’ हौ । त्यहाँ जे र जस्तो गरे पनि ‘बाहिरिया’ मात्रै गनिने तिमीहरू ‘नो–बडी’बाट ‘सम–बडी’ बन्ने प्रयत्नले अहिले ‘नेपालमुखी’ हुन चाहिरहेका छौ दोहोरो नागरिकताको ‘राग’ अलापेर । पैसाको ‘ध्वाँस’बाहेक तिमीहरूसँग यो देशलाई दिन केही छैन । सोही पैसाले यहाँ ‘खेल’ खेल्न चाहन्छौ, वश् ।’ केही जवाफ दिन मैले सकेको थिइनँ उक्त साथीलाई पनि । अहिले एनआरएनएका अध्यक्ष शेष घलेले ‘समानान्तर सरकार’ चलाएको भन्ने एकातिर नेताहरूले ‘आरोप’ लगाएका छन् भने अर्कोतिर वास्तविक पीडितहरू पूर्ण ‘तन्मयता’का साथ उनीलगायत पूर्वएनआरएनए अध्यक्षहरू उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने आदिका राहत कार्यहरूलाई ‘सघाइरहेका’ छन्, अहिले गैरआवासीय नेपाली, ‘गैर’ मानिएका छैनन् । कुरा समय, समयमा ‘विविध’ भएर ‘वास्तविकता’को छाप लिने रहेछ भन्ने लागिरहेको छ ।
जे भए पनि विनाशकारी अवस्था कहिले अनुकूल रहँदैन । विनाशकारी अवस्थाले सामाजिक परिवेशलाई नै धमिलो परिवेशमा ल्याउने गर्दछ । राहतहरूको वहानामा नेपाल यतिखेर विदेशी शक्तिहरूको खेलको मैदान पनि बनेको छ । भारतले राहतका नाममा नेपाली भूभागहरूमा ‘विचरण’ गरेको छ, नेपाली मनोभावहरूमाथि दमन पनि गरेको छ । तिनको राज्य सभामा विशेष किसिमले नेपाली भूकम्पको पीडाहरूको ‘सम्बोधन’ भएको छ, जस्तो कि नेपाल तिनको मुख्य दायित्वभित्र परेको होस् । यसको भविष्यमा गहिरो ‘छाप’ दिने पक्कै छ । अमेरिकी सेनाका हेलिकोप्टरहरूलाई राहत दुवानीहरूका लागि प्रयोग गर्न दिने नेपाल सरकारले बेलायती तीन चिनुक हेलिकोप्टरहरूलाई प्रवेश अनुमति नदिएर एक ‘कूटनीतिक अदूरदर्शिता’ देखाएको चर्चा चलेको छ । पाकिस्तानमा माटोहरूका घरहरूले भरिएका बस्तीहरूमा यस्तै भूकम्पपीडितहरूका लागि राहतहरूको ढुवानी गरी सहयोग दिएको ‘अनुभव’ सँगालेको यन्त्र तथा टिमहरूलाई तिनका चिनुक हेलिकोप्टरहरूका ठूलो इन्जनले ‘जर्जर भइसकेका घरहरू भत्काउन सक्ने’ कारण देखाई तिनको प्रवेश नेपाली भूभागमा रोकिएको कूटनीतिक ‘हार’ हो । कसैले त्यसलाई कर्णेल कुमार लामा प्रकरणसँग जोडेका छन् त कतिले भारतीय दबाबको हवाला दिएका पनि छन्, सायद त्यसैको अर्को चरण हुनुपर्छ, भूपू मन्त्री तथा एमाले नेता प्रदीप नेपाललाई भर्खरै बेलायती भूभागमा टेक्ने अनुमति दिएन बेलायतले । ताइवानी खोजी टोलीलाई प्रवेश नदिएर चीनको सद्भाव खोज्ने जमर्को पनि नेपाली कूटनीतिगत दुर्घटना हो । नेपालमा नै यही धमिलो परिवेशको मौका पार्दै बलात्कारहरू, चोरी, डकैतीहरू हुने क्रम एकातिर छ भने विकराल रूपमा मानव बेचबिखनहरू तीव्र गतिमा बढ्दै गइरहेका तथ्याङ्कहरूमा देखिन थालेका छन् । आपत् र विपत्को अवस्थामा समाजमा एकता आउने, सद्भाव बढ्ने र बढेका उदाहरणहरू प्रशस्तै देखिएका छन् भने समाजमा विद्यमान उचनिचका कार्यहरू भइरहेका उदाहरणहरू छर्लङ्गिएका पनि छन् । त्यसबाट देखिएको छ कि नयाँ नेपाल कति जमिनमुनि र कति माथि रहेछ त भन्ने । विदेशमा ज्याला–मजदुरी गरिरहे पनि आत्माबाट देश त हराएको हुँदैन । आत्माभित्र बसिरहेको देशको बारेमा चिन्ता हुनु स्वाभाविक हो । जुनसुकै परिणाममा हामीजस्ता बिदेसिनेहरूलाई जसरी हेरिने गरेका भए तापनि मातृभूमिप्रति चिन्ताग्रस्त हुने अधिकार मेरा साथीहरूजस्तै मलाई पनि रहेछ, त्यसैले सायद यताबाट केही हरफहरू थपिरहेको हुँ ।
भर्खरै, लन्डनमा अयोजित दर्जनौँ शोकसभाहरूमध्येको एक शोकसभामा भूकम्पपीडितहरूका प्रत्यक्ष रूपमा पीडित बेलायती परिवारहरू देखियो । हरदिन, हरपलजस्तो टीभीमा आइरहेको प्रत्यक्ष प्रसारणमा देखाइएका नेपालको विनाशहरू हेर्दा आँखा नरसाउने कमै होलान् । तिनको दुःख अनि पीडा तिनले शब्दमा पोखेका भन्दा ज्यादा अव्यक्त रूपमा आँखाहरूबाट झल्किएका देख्दा यहाँ खासगरी नेपाली महिला घ्वाँक्कै रोएका देखिएका छन् । समवेदना व्यक्त गर्न राखिएको शोकसभामा आफन्तहरू गुमाउनेहरूदेखि आफ्ना जायजेथा गुमाउनेहरू पनि भेटिए । व्यक्तिगत रूपमा राहत लिएर जान लागेकाहरूले जति सकिन्छ, जे सकिन्छ, बटुलिरहेका पनि देखिए । गैरआवासीय नेपाली सङ्घ बेलायतबाट महासचिव, पूर्वअध्यक्षलगायत दर्जनौँ सदस्यहरू नेपाल गएका छन् । आफ्नो ठाउँ र गाउँ हुँदै नेपालभरि राहतहरू बाँडिरहेका तिनका तस्बिरहरूले सामाजिक सञ्जालहरू भरिएका छन् । पक्कै पनि, ‘साउथ–बकको राउन्ड–अवाउट’मा देखिने रामकृष्ण महर्जन नेपाल गएका हुनुपर्दछ, थाहा छैन– उनले के गुमाए, को गुमाए ? थाहा छैन, आगामी दिनमा उनलाई देख्दा उनको अनुहारमा उस्तै हँसिलोपन देखिन्छ कि देखिँदैन । बडो मुस्किलले लगनखेलमा एक घर ठड्याउन सफल भएका थिए, विद्यार्थी भिसामा बेलायतमा रहने महर्जनले । कता छैन र समस्या अनि पीडा ? पीडाको आँकलन गर्ने आखिर को ?