–प्रकाश के.सी.
प्रकाशित मिति १ असार २०६९, शुक्रबार ०२:१२ घटना र विचार (न्युज डेस्क)
‘यसरी यो भीडको एक अंग भएर यहाँ रानीको विशेष दिनमा उभिनु मात्रै पनि मेरोलागि गर्वको घटना हो । म मेरा नाति पनातिहरुलाई आजको दिनको कथा दोहो-याई दोहो-याई सुनाउनेछु ।’ यूकेको नटिङ्घाम निवासी १३ वर्षीया जुलिया अस्टिनको भनाइ हो, यो यस महिनाको ३ तारिख बेलायती महारानीको राज्यारोहणको ६०औं वर्ष पुगेको उपलक्ष्यमा बकिम्घामअगाडि आयोजित कन्सर्टको बेला लाखौं दर्शकहरुमध्येकी एक दर्शक उक्त बालिकालाई स्काइ टीभीले लिएको सानो अन्तर्वार्ताको एक पंक्ति हो ।
यही जुन २ देखि बेलायती रानीको राज्यारोहण भएको ६० वर्ष टेकेको छ । ६० वर्षको समय आफैमा ऐतिहासिक समय हो । सो अवधिमा बेलायतलगायत संसारले आमूल परिवर्तनहरु देख्यो । राजनीतिक, साँस्कृतिक, भौगोलिक, प्राविधक आदि विभिन्न पक्षहरुमा यस्तरी परिवर्तनहरु भए कि, ६० वर्ष अगाडि र पछाडिको समय, घाम र छायाजस्तै गरी छुट्टियो । बेलायतमा नै १२ जना प्रधानमन्त्रीहरु यो अवधिमा फेरिए, बेलायतको प्रभाव राजाबाट रैतीजसरी खुम्चियो, तर पनि यसबीच, वास्तवमा नै भन्ने भए, एक भावको प्रभाव बदलिएन, त्यो जस्ताको त्यस्तै रहिरह्यो, अझ गहन भयो । त्यो रह्यो, बेलायती जनताबाट रानीको लागि सदभाव । त्यसको प्रत्यक्ष प्रभाव यही जुनको २ देखि ५ सम्म बेलायतको खासगरी लण्डनमा हिरक जयन्तीको लागि राखिएका विविध कार्यक्रमहरु र त्यसमा रहेको व्यापक जनसहभागितामा देखिएको छ ।
कुनै एक सानै भीडलाई नियन्त्रण गर्नको लागि पनि एक नाइकेको जरुरत पर्दछ । नाइके आफ्नो शक्तिको, बुद्धिको, या धनको आधारले उक्त भीडलाई नियन्त्रण गर्न सक्षम भएको हुनुपर्दछ । प्रजातान्त्रिक पद्धतिमा कुनै स्वतन्त्र व्यक्ति अन्य व्यक्तिको नियन्त्रण रहँदैन भनिन्छ, तर उक्त व्यक्ति समाज, संस्था तथा मुलुकमा विद्यमान रहेको व्यवहारलगायत, नीति, नियम अनि कानूनको अन्तर्गत अर्थात् नियन्त्रणमा पक्कै रहेको हुन्छ । यो अवस्थालाई नकार्ने वा नमान्ने व्यक्ति वा समूहलाई उत्श्रृंखल, अवैध, अराजक आदि मानिन्छ, जुन कुनै व्यक्ति तथा समूह त्यसरी गनिन चाहँदैन पक्कै नै । नीति, व्यवहार, नियम तथा अवस्थाहरुको निर्माण गर्नकै लागि पनि प्रजातान्त्रिक अभ्यासबाटै नाइकेहरु चुनिन्छन् । जनताले आफ्नो प्रतिनिधि बनाएर पठाइएका त्यही व्यक्ति नीति निर्माता मात्रै बनेको अवस्थामा पनि आफ्नो पदीय भारको कर्तव्यलाई पूरा गर्न त्यो प्रकारको नाइकेको रुपमा रहन वाध्य भएको हुन्छ कि जसलाई कालान्तारदेखि प्रजातान्त्रिक अभ्यास नगरिएको मुलुकमा शासक भन्ने गरिन्छ । पदीय जिम्मेबारीलाई सवल रुपमा उभ्याउनका लागि शक्ति अभ्यासको जुन कवच लगाउन नाइके अर्थात् नेता वाध्य हुन्छन् कि, तिनलाई अक्सर खलनायकको रुपले परोक्षमा हेरिने पनि गरिन्छ । भन्न के थालिएको हो भने, कुनै न कुनै अवस्थामा जनताहरु –नाइके, नेता, वा शासकहरुबाट निर्देशित हुनु नै हो, यदि शब्दहरुको तथानामका अलंकार नलगाई भनिने भए । मुख्य कुरा, जनताले आफूलाई कसरी हेर्दछन् त भन्ने हो ।
रिपब्लिक कन्ट्री चीन गत बीस वर्षअगाडि केही थिएन संसारका अन्य देशहरुसँगको गन्तीको आधारमा । पत्रपत्रिकामा पढिएको अनि यत्रतत्र देखिएको हालातमा भन्ने भए, जनताहरु निक्कै नै शोषित र पीडित रहेका थिए सोबेला । आफ्नो मौलिकता हराएर बन्धकी जीवन बाँचेका ती चिनीया जनताहरुले बाहिरी देशहरुमा पनि रोजगारीको शिलशिलामा निक्कै नै हेय हुने गरेका थिए भने, चिनीया सामानहरु अत्यन्तै सस्तो र कमसल मानिन्थ्यो । यो बीस वर्षअगाडिको कुरा हो । सार्क कन्ट्रीहरुको भीडमा पनि नदेखिएको एक राष्ट्र थियो चीन । अहिले चीन संसारको दोस्रो महाराष्ट्र बनेको छ, जोसँग व्यापार व्यवसाय गर्न होस् वा कुटनैतिक सम्वन्ध राख्न होस्, संसारको हरेक राष्ट्र मरिमेटिरहेको छ । चिनीयाहरुलाई विदेशमा ईज्जतका साथ हेरिन थालिएको छ । समानहरुमा पनि विश्वास गर्न थालिएको छ । त्यसैले पनि, चिनीया जनताहरुको आम्दानी चुलिएको छ । शासनको विरोध गर्नेहरुको संख्या प्रतिशतमा घट्दै गइरहेको छ । हङकङ चीनको हातमा गएलगत्तै हजारौं हजार हङकङेलीहरु हङकङ छोडेर बेलायत, अमेरिका, क्यानाडा आदि देशहरुमा गई स्थायी बसोबास गर्न थालेको एक अवस्था थियो भने, हङकङमै रहनेहरुले विविध तथा परोक्ष रुपमा चीनले आफ्नो व्यवस्थालाई हङकङमा घुसाउन थालेको अनुभूति गर्दै थिए, त्यसैको चरममा सन् २००३ जुलाई मा प्रो डेमोक्रेसीहरुले पाँच लाख मानिसहरु मुख्यभूमि चीनबाट पास गर्न थालिएको एक विल आर्टिकल २३को विरुद्धमा सडकमा उतारेका थिए, जसअन्तर्गत, विलको प्रगति रोकिएको थियो । यसैबीच चीनमा भइरहेको आर्थिक क्रान्ति तथा उदारीकरणले आफ्नो तीव्र गतिलाई मत्थर गरेको थिएन, त्यसैको प्रभावमा आर्थिक फाइदा आम हङकङेलीहरुमा पनि परेको थियो र त सन् १९९७ ताका विदेशिएका हङकङेलीहरु वापस फर्किन थालेका थिए । सन् २००४, २००५, अनि २००६ को जुलाईमा, प्रो डेमोक्रेसीहरुका अगुवाइमा गरिएका विरोधका जुलुशहरुमा सहभागीहरुका संख्या केही हजारमा मात्र सीमित रह्यो र त्यो झन् झन् घट्दै गयो तर मुख्यभूमि चीनको हङकङमाथिको हस्तक्षेप भने प्रत्यक्ष अनि अप्रत्यक्ष दुबै रुपमा बढ्दै गयो । अहिले यो अवस्था छ कि, एक देश दुई व्यवस्थाअन्तर्गत पचास वर्षको लागि विशेष क्षेत्र रहेको हङकङमा वास्तवमा हेर्ने भए चीनको मात्र व्यवस्था लागू भएकाछन्, हस्तान्तरण गरिएको १५ वर्षभित्रै ।
माथि के भन्न खोजिएको हो भने, शासन स्वीकार्ने, वा नेतृत्व मान्ने अनि त्यसरी नै आफूलाई व्यवस्थित गर्ने अवस्थाको पकड, सम्पूर्णतः जनताको आफ्नो नीजी वैचारिकताभित्र पर्दछ । कसैको शक्तिको प्रभावलाई मान्नु निरीहता होइन, बुद्धिमानी हो । मुलुकमा हुने सन्दर्भका अवस्था तथा व्यवस्थाहरु मुलुकजन्य हुन्छन् । जनतामा बैचारिकता चरममा हुने क्रमले प्रजातन्त्र अवस्यम्भावी देख्दछ । अवैचारिक जनघनत्व भएको मुलुकमा प्रजातन्त्र भनेको बाँदरको सिकार जस्तै हुन्छ । अपच कठोरावस्थामा पनि चिनीयाहरुले फलिफाप देख्दै गएपछि विरोधहरु कम हुनु स्वभाविक हो । मौलिक अधिकारको आधार तब नै सिद्धगत हुन्छ, जब मुलुकमा अन्य सापेक्ष अवधारणाहरु स्थायी हुन्छन् । जनतालाई मुलुकमा ईज्जतसँग बाँच्ने आधार चाहिन्छ, शान्त अनि सौम्य परिवेश चाहिन्छ, अवसरहरुको भरमार चाहिन्छ । यी आधारहरुलाई राजनीतिगत अवस्थाले परिभाषित गर्दैन । यसलाई कुनै पनि सरकारको वा शासकको इमान्दारिताले व्याख्या गर्दछ, व्यवस्थित गर्दछ । त्यही चीनमा हुँदैछ, त्यही बेलायतमा भएको हो र त्यही नेपालमा पनि हुन सक्दछ ।
नेपाल राष्ट्रको इतिहास ज्यादा लामो छैन । भारतलाई कब्जामा राखेको बेलायती प्रभावबाट बच्न तत्कालीन अवस्थामा गरिएका शासकीय गठवन्धनहरुलाई गलत भन्नु अराष्ट्रिय सोँच हो । व्यवस्था तथा अवस्थाहरु समय सापेक्ष हुन्छन् र तिनका समाधानहरु पनि तदनुरुप नै हुन्छन् । यसर्थ, मुलुकको बीयो राख्न सफल राजा पृथ्वीनारायण शाहलाई भुल्न खोज्नेहरु एकै लश्करमा त्यस्ता व्यक्ति हुनसक्दछन्, जसले आफ्नो जन्ममा कृतज्ञ हुँदैनन् । त्यस्ताहरुलाई एकातिर राखेर लेख अगाडि बढाउँदा तिनै राजसंस्थाका पछिल्ला तीन पुस्तालाई यहाँ हेरिएको छ । राणा शासनको १०४ वर्षपछि, मुलुकलाई राजसतात्मकसहितको प्रजातान्त्रिक बनाउने राजा त्रिभुवनले प्रभावहीन तथा प्रभावपूर्ण गरी ४४ वर्ष, राजा महेन्द्रले सम्पूर्णतः राजतन्त्रात्मक १२ वर्ष, राजा बीरेन्द्रले नरमनीतिसहित राजतन्त्रात्मक २९ वर्ष र त्यसपछि राजा वीरेन्द्रको वंश नास भएपछि राजगद्दी हात पारेर राजा भएका ज्ञानेन्द्रले परोक्ष तथा प्रत्यक्ष गरी ५ वर्ष राजगद्दी सम्हालेपछि पृथ्वीनारायण शाहबाट शुरु भएको राज संस्था २३९ वर्षपछि सदाकै लागि अन्त भएको नेपालको इतिहास रहेको छ । बेलायतमा राज संस्थाको शुरुवात सन् १०६६ बाट रहेको दस्तावेजहरु छन् । तर यसबीच अर्थात् सन् १६४९ देखि १६६० सम्म भने बेलायतमा राजसंस्था रहेको थिएन, सो एघार वर्षको अवधिमा बेलायत गणतन्त्रात्मक देश रहेको थियो । राजा चल्र्स प्रथमलाई मृत्युदण्ड दिएर जनताको हातमा सन् १६४९ मा देश गए पनि एघार वर्षपछि भने फेरि राजसंस्थाको स्थापना भएको थियो ।
प्रजातान्त्रिक मुलुकमा, एक व्यक्तिले अर्को व्यक्तिलाई मान्नु वा उक्त व्यक्तिको प्रभावदेखि झक्नु सायद हीन मानिएला । त्यसमा पनि राजारानीलाई पुज्नु यो युगमा पक्कै पनि दासत्व मानिन्छ । तर कसैलाई माया गर्नु, कसैको उपस्थितिप्रति गर्व गर्नु, सदभाव राख्नु, दासत्व होइन, मानवीय संवेज्ञको खुल्ला अनि स्पष्ट प्रभावको प्रदर्शनी हो । प्रजातन्त्रका अगुवा मानिने बेलायतीहरु, रैती लाग्ने गरी बेलायती राजसंस्थाप्रति आफ्नो लगावलाई सार्वजनिक रुपमा प्रदर्शन गर्न अकमकिँदैनन् । रानीको सक्रिय उत्साहलाई आफ्नो राष्ट्रिय उत्साहको रुपमा लिँदा एक प्रकारले आम बेलायती गौरवान्वित हुन्छन्, त्यही विलियम र केटको शाही विवाहमा भयो, त्यही भर्खरै रानीको गद्दी आरोहणको हिरक जयन्तीको अवसरमा भयो । समय र स्थान भिन्न पक्कै छ तर पनि नेपालमा राजसंस्थालाई हेरिने अनि मानिने नजर बेलायतको भन्दा बेग्लै थियो, एक प्रकारले पुजनीय थियो नेपाली राजसंस्थालाई तत्कालीन आम नेपाली जनताहरुबाट हेरिने नजर । बेलायतमा राजसंस्था समयसापेक्ष भइदिए भने नेपालमा त्यसमा झन् कट्टर भइदिए । बेलायती जनता र नेपाली जनतामा सापेक्ष सोँचको स्तरको फरक छ । हामीमा आफ्नो कमजोरीलाई हेर्ने आँखा र बुझ्ने मानसिकता छैन । हामी अरुले हात्ती चढे, आफ्नो घरको धूरी चढ्ने प्रयासमा हुन्छौं । राजनैतिक पार्टीका नेताहरुलाई हामी साध्यको रुपमा मान्छौं, त्यसैले त ती नेताहरु हामीलाई साधनको रुपमा लिन्छन् । बेलायतमा नेताहरु भनेका साधन हुन् र जनताहरु तिनका साध्य हुन् भन्दा अति नलाग्ला ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, मधेश जनअधिकार फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारले वृहत अन्तक्रिया भर्खरै सम्पन्न गरेका छन् । नेपालमा ख्याती कमाएका विविध व्यक्तित्वहरुको सहउपस्थिति रहेको सो अन्तरक्रियामार्फत वर्तमान नेपाली राजनीतिक हालतका साथै मुलुकको भयावह अवस्थाको बारेमा विचारविमर्श गर्ने सो कार्यक्रममा मुलुकलाई यस्तो मोडमा लान जिम्मेबार कांग्रेस र एमाले भएको उदाहरणसहित वक्ताहरुबाट भनाइयो भने आफ्ना विचारहरु जाहेर गर्न सहभागी बनाइएकाहरुले सरकार तथा नेकपा माओवादी अनि मधेश जनअधिकार फोरमहरुलाई दोष दिए । त्यही क्रममा आदिवासी जनजातिका तर्फबाट बोल्ने सहभागी नेताले जातीय आधारमा संघीयतामा मुलुक नगए बन्दुक उठाउने, रगतको खोलो बगाउने धम्की दिए । कस्तो प्रजातन्त्र ? जातीयता छुवाछुतलगायतका पारम्परिक अभ्यासहरुलाई कानूनी रुपमा बन्देज गरी सबैलाई बराबर बनाएपछि त्यही जातीयताको आधारमा अलगअलग हुने प्रपञ्च कति हृदयविदारक छ ? त्यो वर्तमान राजनीतिमा जस्तो नगन्य भाव भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीको हठका कारण संविधानसभा भंग भएको अन्य २१ ससाना पार्टीहरुको भेलामा बताएकाछन् । अहिलेको परिस्थितिमा नेपालमा खुकुलो पन सर्वत्र व्याप्त छ र त्यसैको चरममा पत्रकारहरु सक्रिय छन् । राष्ट्रको चौंथो अंगको रुपमा मानिएको पत्रकारिताले मुलुकको हरेक अवस्थाहरुमा आफ्नो दखलको प्रभाव छाड्न सफल भएको उदाहरणहरु यत्रतत्र छन् । वर्तमान यो घडीमा दुई पक्षहरुबाट बाहिर घाम लागेको विचार र पानी परेको विचार गरी दुई बेग्लो परिवेश देखाइएको छ भने पत्रकारहरुले तिनका त्यही विचारहरुलाई त्यसरी नै सम्प्रेषण गरिरहेकाछन् । कसैले बाहिर नियालेर घाम लागेको हो, या पानी परेको हो, त्यसको निधो गरेर त्यसलाई जनतासामु देखाउन सकेकाछैनन्, जो अति नै दुःखदायी रहेको छ ।
भारत तथा चीनको विकास द्रूत गतिमा भइरहेको छ । यी दुई देशमा एक प्रकारले वफर जोनको रुपमा नेपाल रहेको भौगोलिक अवस्था छ । पहाडै पहाड अनि हिमाल तथा नदीनालाहरुले नेपाल मालामाल छ । यतिखेर नेपालमा शान्त हालात अनि सुरक्षित अवस्था रहे, नेपालको विकासको प्रगति स्वतः चुलिने छ । त्यसको लागि नेपालमा स्थायी सरकार चाहिन्छ । जनताहरुलाई साधनको रुपमा लिने विभिन्न पार्टीहरुका राजनैतिक वैचारिक मानसिकतामा नेपालले सायदै स्थायी अनि बलियो सरकार प्राप्त गर्ला । माओवादी पार्टीबाट बीजारोपण गरिएको जातीय राजनीति अहिले आम भइसकेको छ र जसले समाज छियाछिया भइसकेको छ । त्यसैको फलस्वरुप, हरेक पार्टीहरु जातीय आधारमा फुट्दैछन् र तदनुरुप समाजमा एकले अर्कोलाई पनि त्यसरी नै भेदपूर्ण शैलीबाट हेर्ने र भोग्ने गरिँदैछन् । यो क्रमको अन्त्य देशको छिन्नभिन्न हालातमा हुने लगभग निश्चित छ । लगाम चुँडिएका घोँडाहरुजस्ता नेताहरु भएका छन् भने जनताहरु जातीय सोँचले गर्दा भेँडाजस्ता भएका छन् । यस्तो परिस्थितिमा मुलुकमा लोकतन्त्र साँच्चै नै अफाप भएको छ । समाजमा व्याप्त व्यवहार, तथा मुलुकमा लागू भएका नीति अनि नियमहरुले बाँध्न तथा नियन्त्रणमा लिन नसकिएका लाग्ने प्रकारका नेपाली जनताहरु देखिएका छन् । यो त्यही अवस्था हो, जहाँ अवश्यम्भावी रुपमा एक कुनै त्यस्तो शक्तिको उदय हुन्छ, जसले सम्पूर्ण कडीहरुउपर पूर्ण कब्जा जमाउने छ । लाग्छ, त्यो दिन अब टाढा छैन ।
–लण्डनबाट