– प्रकाश के.सी.
प्रकाशित मिति १६ मंसिर २०७१, मंगलवार १७:२५ घटना र विचार (न्युज डेस्क)
०५३/५४ तिर जाजरकोट खलङ्गाको सुरुमै रहेको एउटा प्राथमिक स्कुलअगाडि एक चौतारामा सधैँजसो जमदार चक्रविक्रम खाँण गफिँदै बस्दथे । उनी सायदै एक्लै हुन्थे, त्यहाँबाट धेरै–धेरै तल भेरीको किनारतिर नियाल्दै उसबेलाका कुराहरू गर्ने समयमा । आफ्नो पन्ध्रवर्षे अवधि बिताएर आउने खलङ्गामा एउटै व्यक्ति थिए जमदार चक्रविक्रम खाँण । अन्यत्रजस्तै जाजरकोटमा पनि केही भूपू गुर्खा खाली हात नै फर्काइएका थिए अनि कोही घाइते भएर फर्केका थिए र समयको अन्तरालमा त्यस माटोमा बिलाइसकेका थिए । सुर्खेतको वीरेन्द्रनगरमा पुगेर भर्ती हुने जाजरकोटेहरू सङ्ख्यामा निकै नै कम थिए । खलङ्गाको त्यो सुको चौतारोमा हरेकजसो दिन लाहुरे कथाहरू सुनाए पनि खाँणले त्यो भेगबाट प्रशस्तै लाहुरेहरू बनाउन सकेनन् । उनका एक मात्र छोरो शुक्रविक्रम खाँण रुकुमको कुनै विकट गाउँको कुनै स्कुलमा मास्टर पो बन्न पुगेका थिए । केहीपछि माओवादी आन्दोलनको सायद सुरुसुरुमा मारिने व्यक्तिमध्ये एक थिए शुक्रविक्रम । माओवादीको हल्ला चल्न थालेपछि छोरोलाई लिएर जसरी भए पनि जाजरकोट छोड्ने हरसम्भव प्रयत्न गर्दागर्दै छोरो गुमाएको दोस्रो महिनामा बितेका थिए चक्रविक्रम । उनका लाहुरे कथाहरू अहिले गाउँखाने कथाजस्ता भएका छन् ।
स्याङ्जाका साइँला भनिने ओमबहादुर गुरुङ पोखरामा ट्याक्सी चलाउँदथे त्यतिबेला, जतिबेला भर्खर–भर्खर हङकङ–आईडीको चर्चा चल्न थालेको थियो । हङकङमा जन्मेका साइँला ‘अब आफ्नो जिन्दगी पनि सुध्रिनेमा’ एक किसिमिले विश्वस्त रहेकै बेला उनका ६२ वर्षीय बाबु भूपू गुर्खा धनबहादुर नराम्रोसँग बिमारीले थलिए । मलायाको लाहुरे भएर पनि पेन्सन नपाउँदै नेपाल फर्किनुपरेका धनबहादुरलगायत उनको परिवारले त्यसपछिको जीवन राम्रो देखेन । आखिरमा गण्डकी अस्पतालमा भर्ना गरिएर आईसीयूमा राखिनुपरेका धनबहादुर ११औँ दिनमा बितेका थिए । मृत्यु कसैलाई पनि प्रिय हुँदैन, धनबहादुरको मृत्यु पनि प्रिय थिएन, तर धनबहादुरको मृत्युको दुःखभन्दा ज्यादा दुःखलाग्दो प्रसङ्गचाहिँ साइँलाको ‘सपनाहरूको मृत्यु’को थियो । ‘हङकङ गएर जीवनलाई सुन्दर बनाउन पाउने बाटोहरू खुलेको देख्ने’ साइँलाले त्यसलाई मूर्तरूप दिन नपाउँदै बिरामी बाबुको उपचारको खर्च जुटाउन सोही हङकङमा आफू जन्मेको प्रमाणपत्र अन्यलाई जम्मा ८०,००० रुपैयाँमा बेच्न बाध्य भए । पैसा सकिएको लगत्तै उनको बाबु बितेका थिए, बाबुको अर्घौं गर्नका लागि प्रशस्तै ऋण थपियो उनको जीवनमा । हङकङ उनका लागि एक ‘सपनाको सहर’ मात्र बनेर रह्यो, उनी अझै पोखरामै ट्याक्सी चलाउँदछन् थोत्रिँदै गएको ट्याक्सीको गतिमा थोत्रिँदै गइरहेको मन र तनलाई घिसार्दै ।
तनहुँका वीरमान घर्तीमगर आफ्नी बिरामी श्रीमतीसहित पोखरामा एक सानो भाडाको छाप्रोमा बस्दथे । केहीअगाडि एउटी मात्रै तरुनी छोरी साथमा हुँदा दमौलीमा सानो रेस्टुरेन्ट खोलेर बसेका वीरमान, छोरीको एक बस ड्राइभरसँग विवाह भएको पहिलो सालमा नै कुरिनघाटमा भएको बस दुघर्टनामा परेर मृत्यु भएपछि त्यसको ठूलो शोक खप्न नसकी श्रीमती बिरामी मात्रै हुने हुँदा पोखराको ब्रिटिस क्याम्पनजिकै पेन्सन बुझ्न सजिलो हुने गरी पृथ्वीनारायण क्पाम्पसनजिकैको एक झोपडीमा बाँकी दिनहरू बिताइरहेका थिए । सन्तानको नाममा उही एक्ली छोरी मृत्यु भएपछि पनि उही छोरी उसबेला हङकङमा जन्मेकी भएकाले त्यही आईडी किन्न पनि एकपटक त मानिसहरूको ताँती नै लागेको थियो । अन्तमा उनले एक–डेढ लाखमा सो मृत छोरीको नामको आईडी बेचेका थिए । एक्कासि आएको पैसाले तिनलाई सुख दिएन, मनभरि जमेर रहेका अनेकौँ पीरलाई रक्सीका घुट्कामा निल्ने सुरमा व्यस्त लाग्ने घर्तीमगरदम्पतीले केही महिनामा नै सो पैसा सकेका थिए । जीवनलाई स्वाभाविक रूपमा चलाउन नसक्ने गरी एकोहोरो जीवनका केही अवधि बाँचेका वीरमानले पैसा साथमा हुँदा पनि श्रीमतीलाई बचाउन सकेनन् । श्रीमती बितेकी केही महिनामा नै उनी सुतेको अवस्थामा बिते । तिनको लास जलाउन चन्दा उठाउनुपरेको थियो छिमेकीलाई । एक लाहुरे जीवनको कुरूप कथाको अन्त भएको थियो त्यसरी ।
ब्रिटिसले हङकङ छोड्नुअधि त्यहाँ जन्मेका विदेशी नागरिकका सन्तानले हङकङ आईडी पाई अन्य नागरिकसरह त्यहाँ बस्न पाउने कानुनलाई त्यहाँ सञ्चालनमा ल्याइछोडेकाले नै हजारौँ भूपू गुर्खाका सन्तानको आगमन हुन थालेको हो । जीवनलाई सुन्दर बनाउन सक्ने हैसियत बोकेको त्यही हङकङमा भूपू गुर्खाहरूसहित तिनका छोराछोरी सन् १९९५ तिर हो र त्यसको उच्चतम बिन्दुचाहिँ सन् १९९७ मा देखियो । चाइनाले हङकङ लिएपछि त्यो क्रम रोकिन सकिने सम्भावनाहरू सर्वत्र थियो । हङकङमा जन्मेको आधारमा भित्रिने छोराछोरीबाट बुहारी, ज्वाइँ अनि तिनका नाबालक छोराछोरी तथा बाबुआमा अनि तिनै बाबुआमाबाट तिनका अन्य छोराछोरी, तिनका श्रीमती तथा श्रीमान् र तिनका पनि नाबालक छोराछोरी आदि गरेर फैलिँदै एक जन्मदर्ताको प्रमाणपत्रको आधारमा केही वर्षभित्रै हङकङमा अन्य ४० जना कानुनी रूपमा भित्रिएका घटना पनि सुन्नमा आएको थियो । त्यसरी हङकङमा पचास हजारभन्दा बढी नेपाली भित्रिएका थिए । ब्रिटिस उपनिवेशभित्र परेको हङकङमा नेपाली गुर्खा रेजिमेन्टअन्तर्गत रहेको अन्तिम दिन थियो सन् १९९७ को जुलाई ०१ । साधारण नागरिकको रूपमा बेलायतको उपनिवेश क्षेत्र रहेको हङकङमा आफ्ना सन्तानको साथमा भूपूहरू आवासीय रूपमा भित्रिने क्रमको प्रत्यक्ष कडी सन् १९४७ को त्रिपक्षीय सन्धि भए तापनि त्यसको मूल आधार अर्थात् सुगौली सन्धिलाई भुल्न सकिँदैन ।
ब्रिटिस साम्राज्यले भारतमा आफ्नो विस्तारवादी जगको स्थापना सन् १७५७ मा ‘हाल’ भारतमा पर्ने भूभागमा ‘इस्टइन्डिया कम्पनी’को नामबाट गरेको थियो । दक्षिणी एसियाका क्षेत्रहरूमा ससाना राज्यहरू थिए । त्यो क्षेत्रको उत्तरी सिमानामा, पृथ्वीनारायण शाहको राजकाजमा एक सानो पहाडी राज्य ‘गोर्खा’ रहेको थियो, जो, लडाइँ लड्दै राज्य विस्तार गर्ने तत्कालीन प्रचलन सर्वत्र चल्दै गरेको क्रममा विस्तारिँदै विशाल बन्दै थियो । एकातिर ‘इस्टइन्डिया कम्पनी’ले पनि ससाना राज्यहरूलाई कब्जा गर्दै एसियाको दक्षिण पूर्वी क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै गएको थियो भने गोर्खाका राजा प्रथ्वीनारायण शाह, प्रतापविक्रम शाह र उनलाई साथ दिने भाइ बहादुर शाह, नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहका प्रधानमन्त्री भीमसेन थापा, सेनापति अमरसिंह थापा आदिले पच्चीस वर्षसम्मको समयावधिमा गोर्खा राज्यबाट नेपाल बनेको राज्यको सिमाना काश्मिरदेखि यता भुटानसम्म फैलिएको थियो । त्यो क्रम, ब्रिटिस साम्राज्यको ‘इस्टइन्डिया कम्पनी’ले औपचारिक रूपमा सन् १८१४ मा नेपालको सिमानामा हमला गरेपछि रोकिएको थियो । लगातार दुई वर्ष चलेको सो युद्ध (नालापानीको युद्ध र काँगडा किल्लाको युद्ध) आखिरमा गएर सन् १८१६ मा नेपाल राज्य र ‘इस्टइन्डिया कम्पनी’बीच ‘सुगौली सन्धि’ गरेर समाप्त भएको थियो । युद्धमा दुवैतर्फ सयौँको मृत्यु भएको थियो । नेपालीले अदम्य बहादुरीका साथ लडेको तथ्यको मुक्त कण्ठले ब्रिटिसहरूले प्रशंसा गरेका थिए । सन्धिमा दुवैतर्फबाट हस्ताक्षर गरिएको तीन महिनापछाडि मात्र, अर्थात् सन् १८१६ को मार्च ०४ मा मात्रै तत्कालीन नेपाली प्रधानमन्त्री भीमसेन थापाले सो सन्धिको औपचारिक रूपमा अनुमोदन गरेका थिए, जुन कार्यप्रति तत्कालीन सेनापति अमरसिंह थापाको असहमति थियो । भीमसेन थापाले सन्धिको अनुमोदन गरेर रोकिएको युद्धपछि नेपालले त्यसअघिको पच्चीस वर्षउतादेखि जितेर विशाल बन्दै आइरहेको धेरै ‘भूभाग’हरू गुमाउनुपरेको थियो । अहिलेको हालतको नक्साको करिब एकतिहाइ जमिन सो कम्पनीले लगेको थियो र तात्कालिक भारतमा गाभेको थियो । औपचारिक रूपमा उपनिवेश नरहे पनि नेपालमा आफ्नो सरकारी अड्डाजस्तो राखेर गुप्तचरी गर्न सफल ‘इस्टइन्डिया कम्पनी’ले अन्य धेरै हालतबाट पनि नेपाललाई ‘अधिकारहीन’ बनाएको थियो । सोही सन्धिपछि नेपालले अन्य युरोपियन देशहरूलगायत अमेरिकाबाट नेपालमा कुनै सेवाहरू लिन नपाउने र हतियारहरू पनि अन्य देशहरूसँग खरिद गर्न नपाउने व्यवस्था गरिएको भए पनि सो सन्धिमा हस्ताक्षर गर्न नेपाल सरकार ‘बाध्य’ भएको थियो । वास्तवमा सो सन्धि दुवै पक्षबीचको ‘समान’ सन्धि थिएन । इस्टइन्डिया कम्पनी र नेपालबीच भएको सो सन्धि कुनै पनि हालतमा दुई पार्टीबीचको नभई ‘खुकुरी र अचानो’बीचको सन्धिजस्तो थियो ।
सुगौली सन्धिमा कहीँ र कतै पनि नेपाली युवालाई (जनजाति ?) ‘इस्टइन्डिया कम्पनी’अन्तर्गतको सेनामा भर्ना गर्ने ‘प्रावधान’ राखिएको थिएन । युद्धताका नेपाली (गोर्खाली) को बहादुरी र त्यागको प्रशस्तै प्रशंसा गरिएको थियो, जसको प्रभावले ‘स्वेच्छा’ले सो कम्पनीअन्तर्गतको सेनामा भर्ना हुन सकिने व्यवस्था भने थियो र सोहीअनुरूप नेपाली भर्ना पनि गरिएका थिए । तर, योचाहिँ पक्कै हो कि तत्कालीन नेपाली शासकले सोही सीधासादा नेपाली युवाको भविष्यका लागि कम्पनीसँग ‘बार्गेनिङ’ गरेन, त्यसको असर भारत स्वतन्त्र नहुन्जेल नेपाली युवाहरू र तिनका नेपालमा भएका परिवारले व्यहोर्नुप-यो, जुन ज्यादै लामो अवधि थियो ।
२६औँ वर्षदेखि भू.पू. गुर्खा सिपाहीहरूको हक र हितमा काम गर्दै आएको गेसोका पदमबहादुर गुरुङ, ‘नेपाल र बेलायतलाई विपक्षमा राखी मुद्दा हाल्नुपर्दछ’ भन्ने धारणा राख्दछन् । उनका अनुसार ‘नालापानीको युद्धपछि नेपाल सरकारले ‘इस्टइण्डिया कम्पनी’लाई सोझासीधा नेपाली जनजाति युवाहरूलाई बेचेको र सो कम्पनीमार्फत बेलायतले किनेकोले दुवै देशलाई मानव बेचबिखनअन्तर्गतको मुद्दा हाल्नुपर्ने’ भन्ने आफ्नो लिखित विचार सार्वजनिक रूपमा गरेका थिए धेरैअगाडि । भू.पू. गुर्खा सिपाही तथा तमू विचारक तर्कजंग गुरुङ भन्छन्, ‘कागज तथा इतिहासका पन्नामा कलमले नलेखिएका भए तापनि तत्कालीन अवस्थामा त्यसबेला नेपालका खासगरी गाउँगाउँहरूबाट सीधासादा जनजातिका युवाहरूलाई जबर्जस्ती पनि इस्टइण्डिया कम्पनीमा भर्ना गरिएको भने हो ।’ हङकङमा कुनै जुगाडका साथ भित्रिएर स्थायी रूपमा बसोबास गर्दै आइरहेका पत्रकार जेबी पुनमगर आफ्नो फेसबुकको स्ट्याट्समा लेख्दछन्, ‘बेलायती साम्राज्यको प्रत्यक्ष उपनिवेशबाट जोगिन नेपाली सत्ताले युद्धमा होमेका (बेचेका, तत्कालीन नेपालीहरू (जातीय रूपमा मगर, गुरुङ, राई, लिम्बू) कै कारण नेपाल भन्ने देश प्रत्यक्ष उपनिवेश हुनबाट जोगिएको हो । तर, नेपाली इतिहासकार, राज्य र बौद्धिकहरू भने बलिदानी दिएर देशको स्वाधीनता बचाउने हजारौँ ती नेपालीलाई अत्यन्त लज्जित (भाडाका सिपाही, आफैँ गएका, पैसाका लोभी) किसिमले प्रोजेक्ट गर्दै आइरहेको छ । जब कि तिनीहरू त्यसै गएका थिएनन् । जातीय रूपमा फलाना–फलाना जातिलाई मात्र भर्ती गर्नू भनी गोर्खे लौरो लगाई बेचिएको थियो । त्यसबापत कमिसनसमेत तिनले गोजीमा हाल्दथे ।’
सबैभन्दा शक्तिशाली समय हो, जसले मानव जीवनमा समयअनुसार सापेक्ष हुने खालका अवस्थाहरूका सिर्जना गर्दछ । सन् १८१६ तिरका अवस्थाहरू भनेका बहादुरी, राष्ट्रियता वा देशप्रेम अनि साधारण र शालीन जीवन शैलीको अवस्था थियो खासगरी नेपाली परिवेशमा । जे र जस्ता परिवेशका सामाजिक संरचनाहरू थिए तत्कालीन परिप्रेक्ष्यमा, चालीस लाख जनसङ्ख्या भएको नेपाल, सौम्य, शक्तिशाली र ओजस्वी थियो र जनता पनि तदनुरूप नै थिए । त्यतिबेला सीधासादा वा जनजातिलाई बेचिएको, जबर्जस्ती अर्काको लडाइँमा लगिएको भन्ने अतिवादी–जातिवादी नेपालीहरूका ‘सङ्कीर्ण’ मनस्थिति हो । तत्कालीन परिवेशमा देशको सिमानालाई चाक्लो पार्नेदेखि लिएर देशको स्वाधीनताको लागि विदेशीहरूसँग लड्न, तत्कालीन व्यवसाय, कार्य तथा रोजगारीको आधारमा वर्गीकरण गरिएको ‘जातिगत सामाजिक संरचनाको आधार’मा क्षेत्रीहरूलाई अगाडि ल्याइएको थियो । देशको आफ्नै भूमिमा कतियौँ क्षेत्रीहरू मरे होलान् ? के अब क्षेत्रीहरूले आफ्ना ती पूर्वजहरूलाई तत्कालीन सरकारले मृत्युको मुखमा होमेको हो भन्ने ? अतीतका प्रसङ्गहरू अहिले जातिगत सन्दर्भमा केलाउनु अस्वस्थ र अहितकर नीति हो । समूलमा के हो भने, बेलायती साम्राज्यको एसियामा प्रतिनिधित्व गर्ने ‘इस्टइण्डिया कम्पनी’ले तत्काली नेपाली शासकहरूलाई दबाएर, लोभ्याएर वा धम्क्याएर, नेपाली सीधासादा युवाहरूको घोर ‘शोषण’ गरेको हो । ती युवाहरूको तर्फबाट तिनको स्थायी हितका लागि वा तिनको भविष्यका लागि आधिकारिक रूपमा नेपालले नबोलिदिएकाले नै नेपाली युवाहरू ‘भाडाका सिपाही’ बनाइए, तिनका लडाइँमा परेर भएका मृत्यु र तिनका परिवारको छातीमा चह-याउने नमेटिने घाउ तथा तत्कालीन तिनको कष्टकर जीवनको दोषी, जति ‘इस्टइण्डिया कम्पनी’ थियो, त्यत्तिकै ‘तत्कालीन’ नेपाली शासकहरू पनि थिए ।
सन् १८५६ तिर ‘इस्टइण्डिया कम्पनी’ले दिल्लीमा आफूविरुद्ध आफ्नै मातहतमा रहेका स्थानीय सिपाहीहरूले साथ छोड्न थालेपछि लगभग ८००० नेपाली सेना, नेपालबाटै तत्कालीन प्रधानमन्त्रीको ‘व्यक्तिगत जागरुकता’मा दिल्ली गएर कम्पनीलाई ठूलो खति हुनबाट जोगाएकोले, ‘सन्धिपछि गुमाउनुपरेका’ बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नेपालले आफ्नो स्वामित्वमा ‘पुरस्कारस्वरूप’ पाएको थियो । सिपाहीको रूपमा ‘रोजगारी’को अवस्था सो समयमा राम्रो मानिन्थ्यो, र त्यसको आभास आमनेपालीवृत्तमा देखिनु अस्वाभाविक थिएन । त्यसैगरी सन् १८५७ बाट नेपाली ‘इस्टइण्डिया कम्पनी’मा सेनामा औपचारिक रूपमा भर्ना गरिने क्रम सुरु भएको थियो र त्यसरी ‘फस्र्ट रेजिमेन्ट अफ गोर्खा ब्रिगेड’ तयार भएको थियो ।
विभिन्न बुँदाहरूभित्र ‘बाँधिएर’ गरिएका सन्धिहरूसँग पछिका कैयौँ नेपाली शासकहरू खुसी थिएनन् । औपचारिक रूपमा नेपाल बेलायतको उपनिवेशभित्र नपरेको भए तापनि, ‘सुगौली सन्धिले बाँधिएको नेपालको अवस्था निश्चय नै पराधीन थियो’ र त्यस्तो अवस्थामा नेपाल र समस्त नेपालीको अति नै आपत्ति भएको र त्यसलाई सच्याउनका लागि काठमाडौ आएका प्रिन्स अफ वेल्स इडवार्ड–आठौँसँग तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले गरेका आग्रहस्वरूप लगभग तीन महिनाभित्रै अर्थात् सन् १९२३ डिसेम्बर २१ तारिखका दिन सिंहदरबारमा बेलायती सरकार र नेपाल सरकारबीच अर्को सम्झौता भयो, जसले मुख्यगरी सुगौली सन्धिमा राखिएका नेपालमाथिका केही प्रतिबन्ध अवस्थाहरूलाई पूर्णतः खारेज गरिदियो, त्यही दिनबाट खासगरी नेपाल त्यस अर्थमा पूर्ण ‘स्वतन्त्र’ भएको हो । इतिहासमा मेटाउनै नमिल्ने किसिमको चन्द्रशमशेरको त्यो ठूलो कार्य थियो । तर, त्यतिखेर पनि ‘इष्स्टइण्डिया कम्पनी’अन्तर्गत कार्यरत गुर्खाहरूबारे केही बोलिएन । सन् १८५७ बाट लगातार रूपमा एक गुर्खा रेजिमेन्टलाई नियन्त्रण गर्ने ‘बेलायती हाकिमको तजबिजको भर’मा गुर्खाहरूको तत्कालीन समय र तिनका भविष्यहरूको तर्जुमा सन् १९४७ सम्म लगातार रूपमा भइरह्यो । भारत स्वतन्त्र भइसकेपछि त्यहाँ रहेको गुर्खाहरूका भविष्यलाई निर्धारण गर्ने गरी नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सन्धि गरियो, जसअनुसार तत्कालीन अवस्थामा सञ्चालनमा आएको १० वटा गुर्खा रेजिमेन्टबाट ब्रिटेनले दोस्रो, छैटौँ, सातौँ र दशौँ राइफल्सलाई यूके ल्यायो । सोही सन्धिपछि भारतमा अनि ब्रिटेनमा काम गर्ने गुर्खाहरू सो देशहरूकै ‘सेनासरह’ मानिने भयो र तलबचाहिँ ‘भारतमा गुर्खाहरूले पाउने रकमबराबर’ ब्रिटिस गुर्खाहरूले पनि पाउने, तर अन्य भत्ताहरू भने देशअनुरूप हुने भनिएको थियो । ब्रिटेनले त्यसपछि आफ्ना चार गुर्खाका रेजिमेन्टलाई मलाया, बोर्नियो, हङकङ, ब्रुनाई, सिंगापुर आदि देशहरूमा सञ्चालन ग-यो । सो अवधिमा भने मलाया लाहुरेहरूको आकर्षण नेपाली समाजमा ह्वात्तै बढेको हो । खासगरी गुरुङ, मगर, राई, लिम्बूहरू क्षेत्रगत आधारमा भिन्नभिन्नै रेजिमेन्टका लागि त्यसरी नै भर्ना गर्न थालियो, यो समयमा अन्य जातिकाहरूलाई मलायाको लाहुरे हुन ज्यादै मुस्किल थियो र कतिले सजिलोका लागि तदनुरूपको जातअनुसारको नागरिकता बनाउँदै भर्ना भएका थिए । गल्लाहरूले आफ्नो जातविशेषकाहरूलाई रोज्ने त्यो अवस्थालाई ‘बेचिएका, जबर्जस्ती गरिएका’ भन्नेहरूले ‘नजरअन्दाज’ गरेका लाग्दछन् ।
पहिलो र दोस्रो विश्वयुद्धमा हजारौँ नेपाली युवा विदेशी माटोमा बिलाएका थिए । आँकडाअनुसार पहिलो विश्वयुद्धमा करिब दुई लाख गुर्खाको संलग्नता रहेकोमा २० हजारजतिको क्षति भएको थियो भने दोस्रो विश्वयुद्धमा दुई लाख ५० हजार गुर्खाको संलग्नतामा ३२ हजारजनाको क्षति भएको थियो, जसमा वीरताको माथिल्लो तक्मा मानिएको ‘भिक्टोरिया क्रस’ १३ जना नेपालीले पाएका थिए । पहिलो र दोस्रो विश्वयुद्धताका वीर भएकाले, शूरो भएकाले नेपाली सिपाहीको चर्चा धेरै चल्यो र त्यही वीरताले संसारमा निकै नै चर्चा कमायो । कवि भूपि शेरचनले आफ्नो ‘घुम्ने मेचमा अन्धो मान्छे’ शीर्षकको कविताुसङ्ग्रहमा राखिएको एक कवितामा लेखेका छन्, ‘हामी वीर छौँ, तर बुद्धू छौँ, हामी बुद्धू छौं र त हामी वीर छौँ, हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ’ भन्ने एक सन्दर्भ राखेका थिए, जसको निकै चर्चा चलेको थियो । कसैले सीधासादा वा साोझोपनको गलत व्याख्या पङ्क्तिमा गरेका हुन् भूपिले भन्ने आसय राखे भने कतिले आफ्नो जीवनको पर्वाह नै नगरी ‘मूर्खतापूर्ण’ किसिमले लड्ने स्वभावले गर्दा हामी ‘वीर’ कहलिएका हौँ भन्ने आशय पङ्क्तिकारले राखेको जताए । जे र जस्तो होस्, विश्वसामु नेपालीको अदम्य साहस र बहादुरीको औपचारिक रूपमा सही मूल्याङ्कनचाहिँ भएको छैन ।
नेपालले तत्कालीन अवस्थामा आफ्नो ‘स्वाधीनता’ बचाउन ‘इस्टइन्डिया कम्पनी’सँग सम्झौता गरेका भन्नेहरूले सोअनुरूप उक्त कम्पनीले छोडेपछि मात्र, विधिवत् रूपले ‘भारत’ भएको देशसँग किन नेपालले सोही ‘सम्झौता र सन्धि’लाई मानेको थियो भन्ने प्रश्न गरेनन् ? सन् १९५० को जुलाई ३१ तारिख काठमाडौंमा पहिलोपल्ट भारत र नेपालबीच विधिवत रूपमा दुईपक्षीय पारस्परिक सन्धि भयो । मोहनशमशेर प्रधानमन्त्री रहेको बेला भएको सो सम्झौतामा ‘इस्टइन्डिया कम्पनी’ले भारत छाडी गएपछि त्यो कम्पनीसँग नेपालले गुमाएको आफ्नो भूभागहरूको माग किन गरिएन ? गुर्खाहरूको ‘भविष्य निर्धारण’ गर्ने बखत नेपालको तर्फबाट किन नेपाली भूभागबारे प्रश्न उठाइएन ? समयको सही उपयोग गर्नबाट तत्कालीन नेपाली शासक चुकेको भने पक्कै हो । तर, आफ्नो राणाशासनलाई धान्न मुस्किल परिरहेको अवस्थामा मोहनशमशेरबाट ‘राष्ट्रिय फाइदा’का लागि चालिने कदमको अपेक्षा गर्न पनि सकिँदैनथ्यो । भारतसँग गरिएको सम्झौताको दुई महिनाभित्रै राणा शासनको पनि नेपालमा अन्त्य भएको थियो । यथार्थ यो पनि हो कि, लाखौँ युवा देशलाई राणाहरूको शासनबाट मुक्त गर्ने बाटोमा तत्कालीन राजावादीहरूको साथमा रातदिन एक गरिरहेका यो त्यही समय थियो, जतिबेला ‘मलायाको लाहुरे हुनका लागि’ अथवा अर्कै देशका लागि अर्कै देशसँग लड्ने प्रण गर्दै नेपाली ‘निश्चित’ समुदायहरूमा आकर्षण बाक्लिएको थियो । त्यो तत्कालीन ‘सामाजिक संरचनात्मक नियति’ थियो ।
गेसोको लगातारको सङ्घर्षले गर्दा सन् २००६ बाट सन् १९९७ पछि अवकाश लिएका भूपूहरू आफ्ना परिवारसहित आवासीय भीसामा यूके आउन थालेका थिए, तर त्यतिखेर ९७ भन्दा अगाडि अवकाश पाएका वा दिलाइएकाहरूमाथि व्यापक भेदभाव भएको भन्दै लन्डनमा जोयना लुम्लेले पनि साथ दिएकी आन्दोलनहरू भए र आखिरमा सन् २००९ पछि भने भूपू गुर्खाहरू आफ्ना श्रीमती अनि उमेर नपुगेका सन्तानसहित यूके भित्रिइन थाले । यस्तै नै, लन्डनको फेल्थामस्थित एक्स सर्भिस् मेनहरूको क्लबको पछाडि रहेको ठूलो फुटबलको चउरमा झापाका चन्द्र राई अक्सर एक्लै–एक्लै परिक्रमा लगाउँदछन् । चउरभन्दा केही अगाडिको दौडने ‘ट्र्याक’मा उनीजस्ता अनि उनकै उमेरका धेरै भूपू गुर्खाहरू आ–आफ्ना श्रीमतीसँग र कोही एक्लै–एक्लै पनि खासगरी घमाइलो दिनमा गफिइँदै चक्कर काटिरहेका हुन्छन्, तर चन्द्र राई सो भीडमा जान खासै रुचाउँदैनन् । …‘कारण अरू के हुनु बाबु, जहानको अति नै याद आउँछ । बेकारमा नै छोडेर आएको जस्तो लाग्दछ कहिलेकाहीँ त । उमेर पुगेकी छोरीलाई झिकाउन सके त उसको परिवारमा राम्रो हुने थियो भनेको, आफ्नो त राम्रो बन्दोबस्त भएको छैन । सानो कोठामा एकजना साथीसँग बसेको पनि दुई वर्ष भइसक्यो । महिनाको आउने ‘बेनिफिट’बाट सक्दो ‘बचाएर’ नाति र नातिनीको पढाइका लागि पैसा नेपाल पठाउनुपरेकाले नेपाल जानै सकिएको छैन । ज्वाइँ बितेकाले छोरी, नाति र नातिनीसित माइतमा बस्दछे, बाबु । हामीले मुद्दा जिते त ‘झ्वाप्पै’ सबै लिएर सधँैका लागि फर्कने थिएँ । के गर्नु ?’ एकपटक उनीसँगै त्यहाँ टहल्दै गर्दा धेरै कर गरेपछि बताएका थिए चन्द्र राईले । कतिपय भूपू गुर्खाहरू आफ्नै सत्संगभित्रै रमाउन चाहन्छन् र खुल्न चाहँदैनन् । लस्करै ट्र्याकमा हिँडिरहेका पूर्वतिरका भूपू गुर्खादम्पतीलाई धेरैपटक सोध्ने प्रयत्न गरिएको हो, तर तिनीहरू खासै खुल्दैन थिए । बेडफोन्ट सर्जरीमा मजेत्रोलाई शिरमा बेरेर एक अधबैंसे महिला, अधबैंसे तर अन्धा नेपालीलाई डो-याउँदै भित्र पस्छिन्, अन्धा अधबैंसेलाई काउन्टरको नजिक राखेर ‘..अब बोल..’ भन्छिन् । अधबैंसे अति नै आधारभूत अङ्ग्रेजीमा आफ्नो दुखेसो रिसेस्सनिस्टलाई सुनाउँछन् । पहिला दिएको कुनै औषधिले काम ठ्याक्कै नगरेकाले आफूलाई फेरि जाँच्नका लागि एक किसिमले अराउँदछन् । रिसेप्सनिस्टले ‘भर्खरै अनि तुरुन्तै त्यसो नहुने, र अप्वाइन्टमेन्ट दिने र त्यो पनि अर्को महिनाको पहिलो हप्तामा कुनै दिन हुने’ भन्छिन् । तर, ‘मान्छे अहिले मर्ने अनि ओखतिचाहिँ पछि हो कि क्या हो ?’ भन्ने आशयले आफ्नो दिक्दारी व्यक्त गरेका ती भूपू गुर्खा (सायद)को हालतको अनि उनको आशयले उनकै पछाडि उभिएका कुइरे बूढोलाई चित्त बुझ्दैन, ऊ आफूसँगै उभिएका महिलालाई हेरेर आफ्नो ‘दिक्कपन’को आभास दिन्छन्, महिलाको मनमा त अन्धो नेपालीको ‘लाचारीको महत्व’ नै हुँदैन । ‘आफूलाई हतार भएको’बारे बताउन थालेपछि अन्धा नेपालीकी श्रीमतीले उनलाई एकछिन एकतर्फ उभ्याउँदछिन् । ‘के समस्या भयो तपाईँहरूलाई ?’ भन्ने प्रश्नको उत्तर दिन, धेरै नै बेर लगाउने त्यो जोडीको अनुहारमा ‘एक नेपाली पनि साथै उभिएको’बारे खुसी देखिएन, एकप्रकारले सक्दो बेवास्ता गरे पनि अन्त्यमा ‘बेलाबेलामा छाती दुख्ने, अनि कम्मर पनि दुख्ने भएकोमा औषधि कामै नलाग्ने दिएको’बारे हतार–हतारमा वा सङ्क्षिप्तमा बताउन भ्याएका थिए, ती अधबैंसे नेपालीले । ‘आफूलाई साह्रै नै दुख्यो’ भनेर बिहान साढे आठ बजेतिर फोन गरे केही घन्टाभित्रमा नै ‘अप्वाइन्टमेन्ट’ मिल्न सक्छ र त्यसै गर्नका लागि सुझाव दिएकोमा ‘धन्यवाद’ भन्दै बाहिरिएका जोडीसँग पनि व्यत्याउन मिल्ने कथाहरूको चाङ होलान्, तर तिनले खोल्न नै चाहेनन् ।
सन् १९४७ पछि मात्र गुर्खा पेन्सन स्किम सुरु गरियो । दोस्रो विश्वयुद्धपछि सात हजार गुर्खा नेपाल फर्के वा फर्काइए । तीमध्ये तीन हजार चार सय ३८ जना मात्र सो पेन्सन स्किमअन्तर्गत अर्थात् चालीस पाउन्ड हरेक महिनाको दरले प्राप्त गरे भने बाँकीले केही पाएनन् । त्रिपक्षीय सम्झौतामा लेखिएअनुसार, पेन्सनको हकदार हुनका लागि कम्तीमा पन्ध्र वर्ष सेवा गर्नुपर्ने हालात थियो । ३२ हजार नेपाली युवा मारिएको सो ताकाको विश्वयुद्धमा अङ्गभङ्ग भएर बेहालातमा नेपाल फर्किनेहरू वा फर्काइनेहरू पनि हजारौँको सङ्ख्यामा थिए । नेपालका कतिपय गाउँहरू त पूराका पूरा युवकविहीन थिए । बूढाबूढी अनि छोरीबुहारीहरूका आँखाहरू महिनौँसम्म ओभानो नभएका प्रसङ्गहरू तत्कालीन साहित्यकारहरूले आफ्ना सिर्जनामा गरेका अहिले पनि पढ्न सकिन्छ । मनको अन्तरमा केही चिरिएर आउँछ, लाचार नेपाली इतिहासले मन धेरै नै क्षुब्ध बनाउँछ । मलायामा कम्युनिस्टहरूलाई दबाउनका लागि सन् १९४८ देखि १९६० सम्म हजारौँ नेपालीलाई खटाइए । मलायामा लाहुरे हुन जाने र पाउने सपनामा नेपालका गाउँघरमा युवा लालायित भएको अवस्था थियो त्यो । त्यसरी लाहुरे हुनका लागि गल्लावालाहरूलाई रिझाउन गर्ने कामहरू सर्वव्यापी थिए त्यतिखेर । गल्लावालहरू गाउँ तथा जिल्लामा आउँदा, तिनको सम्मान मालिकको जस्तो पनि गर्ने गरिन्थ्यो । मलायाको लाहुरेले कति पैसा तीन वर्षको अन्तरालपछि नेपाल फर्कँदा ल्याउँछ भन्ने हरेकको चासोको विषय जस्तो बनेको त्यो समय थियो । मलायामा बेलायती नागरिकका सेनालाई मलाया रकम चार सय ५० दिइने गरिन्थ्यो भने नेपाली नागरिकले जम्मा रकम ४३ पाउँदथे, तर सो बेला, नेपालमा त्यही रकम नै पर्याप्त थियो भन्ने बुझिने गरेर मलाया लाहुरेहरूको आकर्षण रहेको वास्तविकता हो । सन् १९६९ पछि गुर्खाहरूको सङ्ख्या सात हजारमा झारियो र त्यही क्रममा हजारौँ नेपाली खालीहातजस्तै गरी सेवाअवधिको बीचमा नै फर्काइएका थिए । ओखलढुङ्गाका बलविक्रम क्षेत्री पनि त्यही समूहमा थिए । हङकङ र मलाया गर्दागर्दै जागिर खाएको नौ वर्षमा नै काखेछोरोलाई श्रीमतीसहित च्यापेर पानीजहाजबाट हप्तौँ–हप्तौँ लगाएर नेपाल फर्कन बाध्य भएका उनी आजभोलि लन्डनमा छोराबुहारीसँग बस्दै छन् । एक जमानामा खाली हात नेपाल पठाइएका उनीजस्ता कैयौँ अहिले यूकेमा पेन्सनलगायतका अन्य सुविधासहित छन् । लगातार २६औँ वर्षदेखि गुर्खा हक र हितका लागि काम गरिरहेको गेसोको प्रारम्भिक सङ्घर्षको परिणाम थियो त्यो ।