कविता-समयको दारुण व्यथा

प्रकाशित मिति ९ बैशाख २०६७, बिहीबार ०१:२८ घटना र विचार (न्युज डेस्क)

-प्रकाश के.सी.,
यो बदलिएको समय होइन,
समय पुरानिएको मात्र हो ।
पुरानिएर समय चोइटिएको हुन्छ,
कि,
एउटै टुक्रा समयले पनि
जीवनको एक लामो भोगलाई
भोगाइको लामो कथा-व्यथालाई
आद्योपान्त व्याख्याउन सक्छ,
भोग्नका लागि अभिशप्त नियतिले
विशेष बनाएको प्रतिवद्ध समयभित्र,
अब शेष, उही मनका अवसादहरु मात्रै
निचोड, उही प्राप्तिका निसादहरु मात्रै ।

यो बललिएको ‘समय’ होइन,
यो, तिमीमा भएको परिवर्तन होइन,
समयको अन्तरवृतमा तिमी, फगत एक विन्दु हौ,
जो समयको गतिको विपरीत थिग्रियो ।
तिमीलाई लाग्दो हो
विहानै बासी लाग्ने अनिँदो सडक हुँदै
तिम्रो हिँडाइसँगै एकाकार हुन आउने
तिम्रो नियमिततासँगै
तिम्रो जाँगर र थकाइको समीश्रण बन्न
तिम्रो तटस्थताभित्र निर्वाध धावा बोल्ने
तिम्रो काँधको झोलाभित्र टिनटिन बज्दै
तिम्रो समुल बचाइलाई परिभाषित गर्ने
‘टिफिन’का आभासहरु जस्तै जीवन्त
भोगिने क्रमिकताको निरन्तरतामा
तिमीलाई लाग्दो हो
जीवनका प्रत्यक पलहरु संरक्षित हुन्छन् ।
तिमीलाई लाग्दो हो ।
तर, समयको इतिवृतमा तिमी, फगत एक विन्दु हौ ।
तिमी फगत एक विन्दु हौ ।

भर्खरै हो, ताजै अनि हालसालै हो
‘बुद्धबीर’, सँधै जस्तो अर्को विहान उठेन,
जीवनको उस्तै तर अर्को दिन भोगेन,
कसैले भन्यो, उसले ‘बुद्धत्व’ प्राप्त गर्‍यो ।
कसैले भन्यो, उसले ‘बुद्धत्व’ प्राप्त गर्‍यो,
कसले भन्यो, उसले ‘वीरत्व’ हासिल गर्‍यो,
ऊ ‘विगत’ भयो, ऊ ‘शून्य’ भयो ।
उसलाई पनि त लाग्थ्यो होला
‘टिफिन’का आभासहरु जस्तै जीवन्त
बाँचिने नयाँ दिनको क्रमिकतामा
उसलाई पनि त लाग्थ्यो होला
भविष्यका योजनाहरु निःबद्ध हुन्छन् ।
उसलाई पनि त लाग्थ्यो होला ।

सडकलाई ढाकेर हिँड्न समर्थ जाँगरहरु
हावाको वेगलाई पछार्न सक्षम सामर्थ्यहरु
चोइटिँदै गएको समयको टुक्रासँगै
रछ्यानहरुमा निरुद्ध अवसान भोग्छन्,
विगतलाई तिमीले मात्र खाएनौ,
विगतले तिमीलाई पनि खाएको छ,
पलहरुको भोगमा निर्लिप्त अनुभूतिहरु
उमेरको वर्लँदो आभासको शून्यता बन्छन् ।
कतिन्जेल मनलाई अझै थामथुम पार्छौ ?
कतिन्जेल, मनलाई अझै थामथुम पार्छौ ?

भर्खरै हो, ताजै अनि हालसालै हो,
‘सीतादेवी’ले अर्कै नयाँ बाटो रोजिन्
सँधै हिँडिरहेको पुरानो बाटो छोडिन्,
कसैले भन्यो, उनले ‘सतित्व’ गुमाईन् ।
कसैले भन्यो, उनले सतित्व गुमाईन्,
कसैले भन्यो, उनले ‘दैवी-रत’ पाईन्,
उनी ‘आम’ भईन्, उनी ‘सबैकी’ भईन्
उनलाई पनि त लाग्थ्यो होला
टिफिनका आभासहरु जस्तै जीवन्त
सम्मान र रतिपूर्ण स्वआत्मामा
उनलाई पनि त लाग्थ्यो होला
स्वेच्छाका अतिरिक्त भोग रहेका हुन्छन् ।
उनलाई पनि त लाग्थ्यो होला ।

कल्पनाका आल्हादित श्रृड्खलाहरु
अभिशप्त र क्षुब्ध मिहीन यथार्थमा
चोइटिँदै गएको समयको टुक्रासँगै
भोगाइमा चरमको निरवता भोग्छन्
पाउनुमा, तिमीले गुमाउनुलाई दाँजेनौ,
त्रि्रो अस्तित्व नै धमिलो लाग्दछ
धमिलिएको स्वरुपलाई उर्ज्याउँदै
प्रवासी परिचयहरु निःसार बन्छन् ।
कतिन्जेल मनलाई अझै थामथुम पार्र्छौ ?
कतिन्जेल, मनलाई अझै थामथुम पार्र्छौ ?

यो बदलिएको समय होइन,
समय पुरानिएको मात्र हो ।
पुरानिएर समय चोइटिएको हुन्छ,
कि,
एउटै टुक्रा समयले पनि
जीवनको एक लामो भोगलाई
भोगाइको लामो कथा-व्यथालाई
आद्योपान्त व्याख्याउन सक्छ,
भोग्नका लागि अभिशप्त नियतिले
विशेष बनाएको प्रतिवद्ध समयभित्र,
अब शेष, उही मनका अवसादहरु मात्रै
निचोड, उही प्राप्तिका निसादहरु मात्रै ।

[केवलपुरे किसान कविता मेलामा सनाइएको कविता]

Leave a Comment

Your email address will not be published. Required fields are marked *