

हेर्नुको विकल्प नभएर होइन,
हेर्नुमा रमाइलो छाएर होइन,
वस्, म हेरिरहेँ, एकोहोरो अनि एक तमास,
तिमी एकपछि अर्को घात सहँदै लुटिइरह्यौ
तिम्रो भागबाट गाँसहरु खोसिए,
तिम्रो आवासबाट साथहरु छुटिए,
शिरबाट छत गुमाएर अनि आधारबाट आड गुमाएर
पूर्णताले ‘फगत’ भएकी तिमी,
मेरोसामु आई सोध्यौ :
—तिमीले चाहिँ के–के गुमायौ ?
व्यथा हाम्रो एउटै थियो,
तिम्रोजस्तै गाँस खोसिएँ,
साथभित्रको आड गुमाएँ,
शिरमाथिको टोपी लुटिएँ,
पैतलामुनिको माटोले खेदिएँ,
एकपछि अर्को घात सहँदै
तिमीजस्तै पूर्ण ‘फगत’ भएँ ।
पक्कै नै अब तिम्रोजस्तै
मेरो भागमा अब नयाँ गाँस थपिनेछ,
आफ्नैपनको नयाँ छत बन्नेछ,
आफ्नो तापको नयाँ आड मिल्ने छ,
आआफ्नो धुरीबाट हामी हाम्रो नयाँ आँगन हेर्नेछौं,
आफ्नो सीमाभित्र हामी विशाल बन्नेछौं,
हामी उदार बन्नेछौं, हामी पौरखी बन्नेछौं,
हामी ‘फगत’भित्र अपार बन्नेछौं
र त्यसैले अमर हुनेछौं ।
तर, ए मेरी पूर्व छिमेकी !
मैलेचाहिँ धेरै ‘बेग्लै’ धेरै गुमाएँ,
मैले मेरो दृष्टिको अपारता गुमाएँ,
मैले मेरो सोँचबाट विशालता गुमाएँ,
मननशीलता भित्रको ‘तपोपन’ गुमाएँ,
भावुकता भित्रबाट भावना गुमाएँ,
नैतिकताबाट नीतिगत आचार गुमाएँ,
हदबन्दीका परिणतिहरु सर्वत्र स्वीकार्दै
सगोलमा अखण्डित आधारहरु गुमाएँ,
रङ–विभेदीय रेखाको सीमारेखाको विभाजनमा
ए मेरी पूर्व छिमेकी !
मैले तिम्रो उपस्थितिको आभास गुमाएँ,
तिमी नजिकै छौ भन्ने ‘भान’ गुमाएँ,
तिमीलाई दुख्दा दुख्ने मुटु गुमाएँ,
तिम्रो पीडामा तप्कने आँशु गुमाएँ,
आफ्नै ठाउँ विरानो लाग्ने,
आफ्नै मान्छे अपरिचित लाग्ने,
अनौठो र असहज समाजिकताभित्र
मैले मेरो आफ्नै ‘सत्व’ गुमाएँ,
स्वयंबाट आफ्नै ‘सम्मान’ गुमाएँ ।
—लण्डनबाट