-प्रकाश के.सी.
प्रकाशित मिति ४ असार २०६८, शनिबार १२:०० घटना र विचार (न्युज डेस्क)
‘सबैभन्दा उत्तम मृत्यु कस्तो हो ?’ यस्तो प्रश्न गर्नु वा त्यसको उत्तर खोज्नु पक्कै पनि नियतिसँगको पराजय होइन । पक्कै पनि उत्सुकताको चरम होइन । हामी बाँच्नुको अर्थ भोग्ने क्रममा मर्नुको उत्तर खोज्दैनौं, मर्नुको वाध्यता देख्दैनौं । हामी बाँच्ने क्रमको उपल्लो कडीमा त्यसको सार्थकता खौज्छौं । कहिलेकाहिँ सबैलाई लाग्दो हो, हामी किन दौडिरहेका छौं ? किन चिच्याइरहेका छौं ? किन चिन्तित हुन्छौं ? किन पिरलोमा पर्छौं ? रातदिन एक नभनी, भोक प्यास नभनी किन समाजका लागि, वर्ग, क्षेत्र तथा जातिका लागि समर्पित हुन्छौं ? कहिलेकाहिँ सबैलाई लाग्दो हो, जीवनको त्यस उत्सर्गमा धर्मरिएको भारीलाई फ्यात्त एक छेउमा फाली निःसर्त अनि नित्सर्ग स्वच्छन्द र स्वतन्त्र बनिदिऊँ ! निस्तेज र निस्तब्ध बनिदिऊँ ! निराहार र निरुपण अनि विकल्परहित अन्त बनिदिऊँ ! श्वासै फेर्नझैं बिर्सेर जीवनका मोडका मोड हस्याङफस्याङ गरी भागदौड बाँचिरहेका समयको अन्त गरिदिऊँ ! कहिलेकाहिँ सबैलाई यस्तै लाग्दो हो ।
हामी सुखको वहानामा दुःखमाथि दुःख थपिरहेका हुन्छौं । सुखको तृष्णामा पलपल दुःख भोगिरहेका हुन्छौं । दुःख खोजिरहेका हुन्छौं, चोट खिपिरहेका हुन्छौं । जीवनमा समयहरु नदीको किनारामा ठोक्किन आउने छालजसरी आउँछ, खिया खिया पार्दै अथवा छिया-छिया बनाउँदै जीवनरुपी किनारमा चोटमाथि चोट थपेर आयु खियाउँदै जाने समयहरु, किनाराले छाललाई खेपेजस्तो हामी झेल्न वाध्य छौं । हामी आफू ओइलिएको ऐनामा आफूलाई हेर्दै, झर्ने दिनको जोहो गर्दै गर्छौं । ‘सबैभन्दा उत्तम मृत्यु कस्तो हो ?’ यो त्यही जोहो हो, जसको नाममा हामी झुल्दै गइरहेका हुन्छौं ।
बिना कुनै पीडावोध, बिना कुनै हिनतावोध, बिना कुनै रहरको शेष, बिना कुनै परवाहको शेष, निस्चेष्ट, निश्चिन्त, निर्धक्क, अनि शान्त रही सुतेको अवस्थामै मृत अवस्थामा पुग्ने मृत्यु सबैभन्दा राम्रो सबैलाई लाग्दो हो । मरेको थाहा नै नपाई मर्न चाहने एक लश्कर त्यस्ता मानिसहरु, जसले समाजमा चिच्याउँदै, कराउँदै, सताउँदै अनि थकाउँदै सकशले अन्त्यमा परमधाम हुन पुगेका मानिसहरुको हाल देखेका हुनसक्छन् । त्यसरी तर त्यस्तो आततायी हालतमा नमर्ने चाहना राख्नेहरु स्वार्थी हुन् । त्यस्ता व्यक्तिहरु जीवनको भोगाइ भोग्दाभोग्दै थाकेर आत्मघात गर्न चाहान्छन् । तर, जो जीवनमा भोगाइविहीन थाकेकाहरु -हुनसक्छ, रगडी-रगडी पनि जीवनको एक एक अंश भोग्न चाहान्छन्, तिनले जीवनको केही न केही सार्थकता खोज्नै चाहान्छन् । तिनलाई मृत्युको वोध लिँदै मर्ने चाहनामा उक्त मृत्यु उत्तम लाग्दा हुन् । त्यो पक्का पनि भोगाइको पराकाष्ठा नै हो । कति होलान्, अरुलाई हँसाएर, अरुलाई दिएर, अरुको जीवनलाई सजाएर, अनि एउटा नाम आफ्नो भौतिक शरीरको शेषपछि पनि अवशेषका रुपमा छाडेर, सुटुक्क वा तडि्पएर र उक्त तडपले आफ्नाहरुलाई तड्पाएर बित्ने मृत्युलाई उत्तम मान्नेहरु ? आफ्नालागि त सबैले सोँच्छन्, अरुका लागि सोँच्नु पो वडप्पन हो । यो नीतिकथाको पंक्ति हो । कत्तिको सार्थक रहेछ त यो कालमा ?
माओवादी प्रचण्ड वा बाबुराम जत्तिको चिन्तक, विचारक वा पथप्रदर्शक जीवनमा हुन नसकिनेमा अहिले नै ज्ञात भएको छ मलाई । एउटा विध्वंसको गतिशीलता ल्याई राज्यमा केही वर्षअगाडि चिताउनै नसकिने कार्य गरेर देखाउनेमा माओवादी यी दुई नेताजस्ता व्यक्तित्वहरुको विशेष हात छ । आफ्ना सारा जीवन नै समाज तथा देशको लागि अपर्ण गर्ने प्रचण्ड तथा बाबुरामहरुले कसरी अनि कस्तो हालातमा परमधाम प्राप्त गर्लान् भन्ने खासगरी मेरो यतिखेर चासोको विषय भएको छ । के तिनले पाउने औसत हालातकै मृत्यु पनि उत्तम मृत्यु मानिएलान् त ? जातिवादी, परम्परावादी तथा रुढीवादी विविध मान्यताहरुलाई तोड्दै एक किसिमले अराजक भएर समाजलगायत राज्यमा सर्वहारा वर्गहरुको उत्थान गर्न धेरै हदसम्म सफल यी व्यक्तित्वका मृत्यु, अरुलाई हँसाएर, दिएर, दिलाएर जाने उत्तम मृत्यु मानिएला त ? बारम्बार सोँच्दो छु म । पक्कै नै, जसरी र जुन आरामले अनि सकशले मृत भए पनि यिनका पार्थीव शरीरहरुको शहर परिक्रमा भने हुनेछ, सर्वत्र गुणगान गरिने नै छ, ठूलठूला यिनका तस्वीरहरुमा मग्मगाउने फूलहरुको माला झुण्ड्याइने नै छ तर के यही तिनले जीवन जिउने क्रममा गरेका अन्तको जोहो नै हुन् त ? जातपात नभनी, अन्तरजातीय विवाहमा जोड दिने, धर्म र तिनको रुढीवादीतालाई उखाल्न धर्मसम्वन्धी विश्वासको उपहास उडाउनेलगायतका विविध कार्यहरुको सम्पादन गरी समाजमा सबैखालका नेपालीहरु समान हुन् भन्ने आधारको जग हाल्ने प्रयास तिनले गरे । अब, यहाँ यी नेताहरुले धराशायी बनाएका मानवीय विश्वासहरु, मानवीय समवेदनाहरु, मानवीय आधारभूत अधिकारहरुको कुरा खासगरी यो लेखमा नगरौं, ती आत्माहरुले र ती परिवारहरुका आहहरुले कहिल्यै पनि, समाज तथा देशका लागि आफ्नो देन दिएको भनाएर मर्न चाहने यी नेताहरुको मृत्युको राम्रो हालातको कामना पक्कै गरेका हुँदैनन् । जे होस्, एक किसिमले पहिले कहिल्यै नदेखेको जागरण राज्यमा देखिएको छ । समान तथा र्सवहारा अनि बराबरीको वकालतमा विध्वंसकता व्यहोरिसकेको राज्यले अहिले के समाजमा समानता पाएको छ त ? हुन त यो अझै नै निक्कै प्रारम्भिक चरणमा छ तर स्थिति कस्तो होला भन्ने अनुमान सरल किसिमले लगाउन सकिने किसिमको प्रारम्भिक चरण भने स्थापित भइसकेको छ ।
गणतन्त्र, लोकतन्त्र, या प्रजातन्त्र जे र जुन नाम दिए पनि आखिर तन्त्र भनेको जनताको भन्ने नै बुझिन्छ । जनता भन्नाले, माओवादीय देनस्वरुप भन्छु, सबै नै अर्थात् क्षेत्री, बाहुन, राई, गुरुङ, मगर, लिम्बू, नेवार, कामी, दमाई, सार्की, मधिशे, दनुवार आदि इत्यादि समान रुपका, समान अर्थका नेपाली नागरिकहरु हुन् भन्ने बुझिन्छ । सबै समान भएका नाताले, सबैको हक र अधिकार बराबर मानिएका नाताले यहाँ कसैले कसैलाई वा कोही कसैबाट अपमानित गर्ने, हुने, होँचपेच हान्ने, हानिने, हेप्ने, हेपिने तथा भेदभाव गर्ने, गरिने कार्यहरु समाजमा नहुनु पर्नेमा अहिले र्सवत्र व्यापक रुपमा यही नै हुँदैछ । विचरा ! प्रचण्ड र बाबुरामहरु नाम मात्रका नेता भएका छन् माआवादीभित्र, खास नेता त किरण, बादल, देवहरु नै रहेका छन् । नेपालमा अहिले आफ्नो शालीनताको, वौद्धिकताको प्रवुद्धताले होइन, जातीय आधार, वर्गीय सोँच अनि मान्यताले उच्च भएका र बनाइएका छन् । यो त्यही हालातको विल्कुल विपरीत हो, जुन हालातले सबैलाई समान भएको आधार प्रस्तुत गर्दछ र जसको मुख्य रुपमा माओवादी यी दुई नेतालगायतकाहरुले कामना गरेका थिए । ‘वाहुनवादको विरुद्धमा जनजातिहरु एक भएका हौं, क्षेत्री, वाहुनलगायतका आर्यनहरुको विरुद्ध होइनौं’ भनी जनजाति मूलका नेताहरुले भन्ने गरे तापनि ‘वाहुनवाद’को आडमा आर्यनहरुको विरोधी नै ती रहेका लाग्छन् । प्रचण्ड, बाबुरामलगायतका आर्यनहरु ‘प्रगतिशील बाहुनहरु’ र गिरिजा, माधवलगायतका ‘पुरातन अनि रुढिवादी वाहुनहरु’ भनी खेमाहरु छुट्याइएका छन् । मलाई लाग्छ, ‘वाहुनवाद’ एक ‘पर्दा’ मात्रै हो, जो सजिलोका लागि जनजातिहरुबाट उठाइएको छ । जातीय विभाजनको प्रमुख कारक तत्कालीन एकतन्त्रीय व्यवस्था हो, तत्कालीन अज्ञानता तथा अशिक्षा हो, तत्कालीन जनजागरणमा कमी हो, तत्कालीन एक्वेबद्धताको अभाव हो । ‘अन्याय गर्नु र अन्याय सहनु’ भनेको ‘घुस लिनु र दिनु’ जस्तै बराबरको अपराध हो । किन त ती अन्यायमा परेकाहरु एक जुट हुन सकेनन् ? किन ती तत्कालै विरोध गर्न सकेनन् ? अहिले आएर उक्त अन्यायको ‘प्रत्याभूति’ खोज्नु वा ‘बदलाको भाव देख्नु’ भनेको अहिलेको हालातलाई झन् विषाक्त बनाउनु हो । अहिले स्थिति यस्तो विषाक्त हुँदै छ कि, एक आर्यन र एक जनजाति नेपालीबीच हुने झगडा दुई नेपाली भाइहरुबीचको आपसी झगडा हुँदैन, त्यहाँ आर्यन र जनजातिबीच खेमा छुटिन्छ, व्रि्रोह शुरु हुन्छ । हो, यो नै त्यो अवस्था हो, जसमा आगोको सानो झिल्को मात्र काफी हुन्छ, राज्य र संरचना जलाएर भस्म गर्नका लागि । विचरा, प्रचण्ड र बाबुरामहरु……!! सबैलाई समान बनाउन र देख्न खोज्छन्, आफै पार्टी शीर्षस्थ स्थानबाट जातीय आधारमा अल्पमतमा परिसकेका छन् । अब, फालिन वा बाहिरन मात्र बाँकी छन् ।
समाजमा खासगरी यस्तै किसिमको विषम स्थितिको हालात तयार परेको, जातीय आधारमा झन् दिनप्रतिदिन नेपालीहरुबीच घृणा जागेको, अविश्वास पैदा भएको, इतिहास तथा नेपालित्वको जगको आधारहरु भत्केको आदिइत्यादि सयौं प्रकृतिका अवस्थाहरुलाई भविष्यका पुस्ताको पोल्टामा छाडी परमधाम हुने प्रचण्ड, बाबुरामलगायतका नेताहरुले के वास्तवमै जिउनुको सार्थकता पाएका मानिएलान् त ? के तिनका मृत्यु उत्तम मानिएलान् त ? थाहा छैन -कसरी फुत्किन्छ, तिनबाट तिनका प्राण ? कसरी पुग्छन् परमधाम ? तर राज्यको लागि अनि जनताका लागि समान रुपमा सर्वोच्चता हस्तान्तरण गर्ने चाहना राख्ने यी नेताहरुका आत्मामा बोझ अवश्य नै हुनेछ, राज्यमा अस्थीरता अनि अराजक छाउनुको यथार्थबाट । किनकि, दिन कस्तो हुन्छ भन्ने विहान पूर्वको आकाशमा देखिने लालीले अर्थ्याउँछ भने जस्तै अहिलेको अवस्थाले मलाई लाग्दैन, नेपालले सुनौलो अवस्था देख्नेछ । यही हालतमै दिनप्रतिदिनका दरमा जनजाति पक्ष र आर्यन पक्षहरुबीच नजानिँदो किसिमले दूरी बढ्दै गएको छ । त्यसलाई घटाउनका लागि नभई बढाउनका लागि विविध तर्क, वाद, विचार र वर्गका नेताहरु एकवद्ध भएका छन् ।
अनि यही परिप्रेक्ष्यमा प्रश्न उठ्छ, वास्तवमा कस्तो मृत्यु उत्तम हो त ? चिन्ताहीन, पीडामुक्त अनि संसयहीन अवस्थामा मर्नका लागि अहिलेको हालातमा खासगरी नेपालीहरुलाई पागल हुनुपर्दछ । चेतनशीलता, विवेकशीलता अनि सम्वेदनशीलतालाई मानसिकतामा लिएर मृत हुनेहरुले चिन्तामुक्त, पीडामुक्त हालातको मृत्यु भौग्दै भोग्दैनन् । मेरो ज्ञारेन्टी छ । ‘के समाजमा मेरा आफ्नाहरु, मेरा प्याराहरु शान्ति तथा गर्व अनि स्वस्थ बाँच्न पाउलान् त ?’ -यो कालमा मर्ने हरेक नेपालीहरुका मानसिकतामा टाँस्सिएको यस प्रश्नले तिनलाई सजिलै सदगति प्रदान गर्दैन । त्यसैले कालगतिले मर्ने अबका हरेक नेपालीहरुलगायत नेताहरुका मृत्यु उत्तम हुँदैन तर पागलहरुको मृत्युको बारेमा शंका नै छैन, तिनले उत्तम मृत्यु पाउँदछन्, नत्र भने, अहिलको अवस्थामा उत्तम मृत्यु पाउनका लागि हरेक नेपालीले कन्चटमा आफैले गोली दाग्न सक्नुपर्छ, या, अग्लो बिल्डिङ, वा पहाडबाट हामफाल्न सक्नुपर्छ, वा यस्तो विष सेवन गर्न सक्नुपर्छ, जसले त्यसको स्वादै लिने मौका नदेओस् । साँच्चै नै, यो कालमा, नेपालीहरुका लागि उत्तम मृत्यु भनेको आत्महत्या गर्नु नै हो । यही मेरो यस लेखको सार हो ।