कविता-हङकङभित्रको मेरो नेपाल !

प्रकाशित मिति २७ बैशाख २०६७, सोमबार ०९:१३ घटना र विचार (न्युज डेस्क)

– प्रकाश के.सी.,

एकसरो ईज्जतलाई
तन्काएर
आत्माको पीँघमा गाँठो बाँधी
एकहूल ‘कवि मन’
कवितामा उचालिन्छन्

‘मधूरस’मा आकासिन्छन् ।

भन्ने मात्र हो,
कम्मर त भाँच्चिँदैन,
जत्ति नै मट्काए पनि ।
‘झयाउरे’ शिरमाथि
‘लै बरी’ पाखुरामा
बलिवुड मच्चिन्छ
एकहूल कान्छी रहरहरु ।

माइली फुपु,
जेठी दिदी र उनकी बहिनीहरु
मामा र भान्जाहरुसँगै
धर्का धर्का आँशुहरु
नीःशब्द पिउँछन्,
अहा ! कस्तो राम्रो सिरियल !!

आत्माश्लाघाको विदीर्ण शहर
किँकर्तव्यविमुढ सम्वेदनाहरु,
मन हराएकाहरुका
बेमनहरु
कहिल्यै नझुक्ने, कहिल्यै नदब्ने
गीतका ‘नेपाली शिरहरु’
बुख्याचामा अडाईएको
हङकङको मेरो ‘नेपाल’ !

साँध पारेर
एउटाले उद्याउँछ,
अर्कैले ‘पाइन’ चढाउँछ,
केराका दाम्चा जस्ता स्वाभिमानमा
‘दक्षिण’कोले बाराम्बार परिक्षण गर्छ
छ्याक् छ्याक्….छ्याक् छ्याक्
अँगालोभरिका उष्णताहरुले
कुना-काप्चा
सेकाउँदै ‘कान्छी’
एउटा छेउमा उभिन्छे,
ढुङ्गा चपाउने बैँशहरु
डण्डामा गाभेर
तनक्क ढोकाको आसपास
जोश उभ्याउँदै ‘बहादूर’
देशलाई उकेरा दिन्छ,
ख्वै ?
हाँस्छन् कि रुन्छन् !

तर,
गल्लीमा
भीर पाखामा
पहाडका दुल्काहरुमा
होटेलका रछ्यानहरुमा
सेलूनका हेडटवहरुमा
गेटमा, डोरमा, ढोकामा
अविच्छिन्न लम्पसार
हङकङको मेरो नेपाल ।

लाचार नीःसार समयहरुभित्र
लगातार बलात्कृत आत्माहरुमा
बारम्बार हीनताको स्खलन हुन्छ,
साहित्यकारहरु बीबीक्यू चपाउँदै
अभिमान उघ्राउँछन्,
उतैका ‘दक्षिण’ आउँछन्
उसैगरी नँग्याउँछन्, चिथोर्छन्, रगड्छन्,
स्वाभिमान मरेका आत्माहरु,
अहा ! कस्तो राम्रो सिरियल ।

खण्ड खण्डमा विखण्डित
सतासझैँ किनारा परेको
‘ने’ गुमाएर आघातले पालिएको
मर्लान्त रहरहरुले झ्याँग्गिएको
कण्डमभित्रको वीर्य जस्तो
हङकङको मेरो ‘ने पाल’ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *