– प्रकाश के.सी.
प्रकाशित मिति १ भाद्र २०७२, मंगलवार २०:४४ घटना र विचार (न्युज डेस्क)
लन्डनको वेस्टफिल्डमा अवस्थित न्युरोलोजीको अस्पतालको एक ठूलो झ्यालनजिकको बेडमा एकतमाससँग पल्टिरहेकी बबिता केसी झ्यालबाट परसम्म फैलिएको कारपार्क र त्यहाँ पार्क गरिएका सयौँ रङ्गीबिरङ्गी कारहरूलाई उस्तै एकतमाससँग केही अगाडिबाट हेरिरहेकी हुन्छिन् । सधैँ आउने उनकी एक्ली साथी शरु भर्खरै आएर गएकी थिइन्, उनलाई त्यही झ्यालबाट देखिने कारपार्कमा देख्न चाहने रहर यसपालि पनि टुटेको थियो । बेलायत पढ्नका लागि भनी भित्रिएको दशौँ वर्षपछि कमाउन नसकी हाल एउटी मात्रै रहेकी उही एक्ली साथीको हेरचाहमा ब्रेनट्युमरको अपरेसन गरेर अस्पतालको शøयामा लम्पसारिएकी बबिता, जीवनको प्राप्तिलाई मनन गर्न थाल्दछिन् .. बेलायत बसाइको दश वर्षको उपलब्धि भनेको बेलायतमा स्थायी बसोबास गर्न पाउने अधिकार आईएलआरबाहेक रह्यो त ? यहाँ हासिल गरेको शिक्षाको भर, संसारभरका मानिसको भेल भएको प्रतिस्पर्धात्पक देशमा कसरी कुन हदसम्म होला ? जीवनको सबैभन्दा सुन्दर र ऊर्जाशील जीवनको मुख्य दश वर्ष बिताएर बैंसको आखिरी रेखामा उभिन पुगेकी बबितालाई समय प्रसस्त भएको हुनुपर्दछ, अक्सर आफूले के–के पाइन् र के–के गुमाइन् भन्ने सोचले उनलाई डुबाउन थालेको छ ।
यूसीएएसका अनुसार हरेक वर्षजसो आफ्नो अध्ययनको सिलसिलामा एक सय ८० देशबाट लगभग ४३ हजार विद्यार्थी बेलायत भित्रिने गर्दछन् । क्यूएस वेल्र्ड युनिभर्सिटीको सर्भेअनुसार विश्वको उच्च ६ वटा युनिभर्सिटीमा बेलायतको मात्रै चारवटा युनिभर्सिटीहरू छन्, जसले गर्दा यहाँ उच्च शिक्षा लिनेहरूका लागि संसारमा जहाँ पनि उच्च तहको अवसरहरू मिल्ने पक्का हुने गर्ने भएकाले पनि अन्तर्राष्ट्रिय विद्यार्थीमा बेलायती शिक्षाको चाहना उच्च देखिएको हो । सन् २००४ तथा ०५ ताका टोनी ब्लेयर सरकारले त्यतिबेला केही कडाइ गरेका भए तापनि बेलायतमा पढ्नका लागि आउने नेपालीहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहेको थियो । पढ्नका लागि आउने विद्यार्थीले आफ्नो साथमा आफूप्रति समर्पित (डिपेन्डेन्ट) श्रीमान् वा श्रीमतीलाई पनि लिएर आउने सो व्यवस्थाको उच्च अवस्थामा कतिपयले आफ्ना सोही डिपेन्डेन्टहरूलाई सो कानुनी अवस्था बेचेर त्यही पैसामा पढ्नका लागि आउने गर्न पनि थालेका थिए । डिपेन्डेन्ट अवस्थामा सक्कली वा नक्कली श्रीमान् तथा श्रीमती भएर आउनेले फुलटाइम काम गर्न पाउने र पढ्नेले हप्ताको बीस घन्टा पढ्न पाउने सो समय, पढ्नका लागि मात्र नभई कमाउनका लागि आउने राम्रो अवसर पनि मानिएको थियो । त्यही समयमा काठमाडांै धापासीका बबिता र विवेक केसी दिदीभाइ उच्च शिक्षाका साथ पैसा कमाउनका लागि पनि अन्यसरह बेलायत छिरेका थिए, जुन खर्चका लागि तिनका अभिभावकले धापासीको घर धितो राखी ऋण लिनुपरेको थियो । त्यसरी नेपाली विद्यार्थी बेलायत भित्रिने क्रमको चरम, सन् २००९ देखि १० को मध्यमा देखिन गयो, जो आर्थिक मन्दीको समय पनि थियो । सन् २०१२ मा भएको ओलम्पिक गेमको लागि शिक्षित जनशक्तिका साथै सस्तो श्रमका विद्यार्थी राम्रा विकल्प थिए । बेलायत सरकारलाई यसै त विद्यार्थी भिसा शुल्कलगायत ट्युसन शुल्कबाट प्रतिवर्ष १ं५ विलियन पाउन्डको आय गर्ने गर्दछ, त्यसमा सस्तोमा उपलब्ध हुने विद्यार्थीका श्रम अनि तिनले तिर्ने ट्याक्सको हिसाब बेग्लै हुन्थ्यो । लेबर सरकारको खुकुलो नीतिमा अन्य मुलुकका विद्यार्थीसँग नेपाली पनि सोही समयमा यहाँ लगभग सोहीताका एक जानकारीअनुसार करिब २० हजारको सङ्ख्यामा बेलायत भित्रिएका थिए ।
सन् २०१० मा कन्जर्भेटिभ र लिवडेमको मिलिजुली सरकार आएपछि खासगरी इमिग्रेसन लमा व्यापक परिवर्तन आयो र सोही क्रममा दर्जनौँ निजी कलेज सस्पेन्डमा परे । सन् २०१२ मा लागू हुने गरी आएको तत्कालीन नयाँ नीतिअनुसार निजी कलेजमा पढ्नेहरूलाई काम गर्ने अधिकारबाट वञ्चित गरियो भने सरकारी वा अर्धसरकारी कलेजमा पढ्नेहरूले १० घन्टा मात्र काम गर्न पाए र तिनका डिपेन्डेन्टहरूले भने फुलटाइम काम गर्न सक्ने व्यवस्था यथावत् नै कायम रह्यो । त्यसप्रकारको नीतिको मारमा परेर धेरै नेपाली विद्यार्थीको विजोग भयो । त्यस्ता निजी कलेजहरूको लागि अन्तर्राष्ट्रिय विद्यार्थीलाई देशमा झिकाउन मिल्ने कानुन पास गर्ने सरकारले, त्यस्ता कलेजहरूबाट फसेका वा फसाइएका विद्यार्थीका रकमको ग्यारेन्टी लिएन, तदनुसार, विद्यार्थीले अर्को कलेज खोजेर आफूलाई फेरि वैधानिक बनाउनको लागि अतिरिक्त पैसा खर्च गर्नुपर्ने भयो । त्यो गर्न नसक्ने वा नचाहनेले समयमै, बेलायतबाट इस्टयुरोपको स्पेन, पोर्चुगल र फ्रान्समा पढ्नका लागि भनी गए । बताइएअनुसार त्यहाँ नेपालीको सङ्ख्या अहिले पाँचदेखि सात हजार पुगेको छ । त्यसको मुख्य कारण के पनि हो भने त्यहाँ रहने विद्यार्थीले दुई वर्षभित्र लङ स्टे भिसा अर्थात् एक किसिमको आवासीय भिसा प्राप्त गर्दछन्, जो प्राप्त गरिसकेपछि युरोपियन युनियनभरि जहाँ पनि बसोवास गर्न मिल्ने भएकाले अहिले विद्यार्थीको ठूलो जत्था त्यसरी बेलायतबाट खासगरी त्यो क्षेत्रमा ओइरिएका हुन् । एक अनुमानमा, बितेको दश वर्षको समयावधिमा पुग–नपुग २५०० नेपाली विद्यार्थी नेपाल फर्केका छन्, तीमध्ये केहीले आफ्नो अध्ययन पूरा गरी फर्केका छन् भने कति यूकेबाट फर्काइएका छन् । र अझै पनि यूकेमा ठूलो मात्रामा गैरकानुनी अवस्थामा विद्यार्थी यतै लुकेर क्यास इन ह्यान्डअन्तर्गत अत्यन्तै न्यून तलबमा काम गरिरहेका छन्, जसलाई कानुनी हालतको कुनै सुरक्षा प्राप्त हुँदैन । तीमध्ये केहीले आईएलआरवाला व्यक्तिसँग सो हालतमै स्कटल्यान्ड पुगेर त्यहाँ म्यारिज रजिस्टारको अफिसमा विवाह दर्ता गराई यहाँ कानुनी रूपमा बस्ने चाँजो मिलाउने गरेका पनि भेटिएका छन् । विद्यार्थीका अवस्थामा आएको नयाँ नीतिले गर्दा यहाँ आवासीय भिसा पाएकाहरूलाई फसाइ विवाह गर्नका लागि ठूलो सङ्ख्यामा युवाहरू लालयित भएका बताइएको छ । भर्खरै अर्थात् यसै वर्ष पास गरिने खासगरी अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्नेगरी एक नयाँ नीतिलाई लागू गरिने भएको छ । त्यसले त नेपाली विद्यार्थीका लागि बेलायत अब काम गरी शिक्षा हासिल गर्नका लागि अत्यन्तै अपायक राष्ट्र हुने भएको छ ।
धादिङबाट सन् १९९८ को मध्यतिर विद्यार्थी भिसामा बेलायत छिरेका प्रोफेसर पदम सिंखडा, लन्डनमा मास्टर गरेपछि बेलायतको साउथ ह्याप्टनबाट पीएचडी गरेर अहिले लिभरपुल जोन मोर्स युनिभर्सिटीमा पढाउँछन् । लामो समयदेखि बेलायतमा रहेका सिंखडा नेपालमा ग्रिन तारा ट्रस्ट चलाउँछन्, जसलाई सघाउन विभिन्न प्याकेजका कार्यक्रम लिएर वर्षमा तीन–चारपटक नेपाल आउने–जाने गर्दछन् । बेलायत बस्नको लागि आवासीय सुविधा अर्थात् आईएलआर पाएका सिंखडा सो सुविधालाई बेलायतको नागरिकता नभएको, तर त्यसले नेपालमा आफूले जानेको र आर्जन गरेको सीप तथा जाँगरहरूलाई सदुपयोग गरिरहने मौका भएको मान्छन् । स्मरणीय छ, मन्त्री लालबाबु पण्डितको विशेष सक्रियतामा विदेशको पीआर लिएका सरकारी अधिकारीहरूलाई निष्कासन गर्ने नियम बनेको छ, सोही सन्दर्भमा सिंखडा भन्दछन्, …. पीआर वा आईएलआर भनेको सिटिजनसिप होइन, सो देशमा रहने अनि आवतजावत गर्ने स्थायी सुविधा मात्रै हो । त्यस्ता व्यक्तिहरूले नेपाली नागरिकता त्यागेका हुँदैनन्, नेपाली पासपोर्टमै यात्रा गर्ने गर्दछन् भने ती व्यक्तिहरूले कसरी र के आधारमा नेपालको बेइज्जत गरेका छन् त ? नेपालको विकास गर्न नेपालमै बस्नेहरूले मात्र सक्दछन् भन्नु आजको विश्वव्यापीकरण भएको बेलामा अत्यन्तै साँघुरो सोच हो । बेलायतमा दुई सयभन्दा बेसी पीएचडी नेपाली रहेका छन्, ती सबैजसो नै निक्कै नै राम्रो अवस्थाका पेसा वा जागिरमा लागेका छन् । तिनको प्रविधिलगायत ज्ञानको लगानी बेलायतमा मात्र भएको छैन, तिनबाट विभिन्न नामका कार्यक्रमहरूमार्फत नेपालमा पनि भइरहेको छ । हाम्रो सरकारले सो पक्षतिर सकारात्मक सोचले हेर्न जरुरी छ ।….. सिंखडाका अनुसार बेलायतमा दुई तरहका शिक्षापद्धति अपनाइने गरिन्छ, पहिलो फरदर एजुकेसन र दोस्रो हाइअर एजुकेसन । केही कारणबस आफ्नो अध्ययनलाई समयमा पूरा गर्न नसकेकाहरूका शिक्षालाई अगाडि बढाउनका लागि तिनलाई विविध किसिमका ट्रेनिङहरू फरदर एजुकेसनमा दिइन्छ भने हाइअर एजुकेसनमा मास्टर्स वा पीएचडी आदि पर्दछन् । फरदर एजुकेसनका लागि विभिन्न सरकारी, अर्धसरकारी वा प्राइभेट कलेजहरू हुन्छन् भने हाइअर एजुकेसनका लागि युनिभर्सिटी जानुपर्ने हुन्छ । सन् २०१२ तिर नै सरकारी वा अर्धसरकारी कलेजमा पढ्ने विद्यार्थीले हप्ताको १० घन्टा काम गर्न पाउँथे र तिनका डिपेन्डेन्टहरूले फुलटाइम पाउँथे, जो सन् १२ अघि प्राइभेट कलेजमा पढ्नेहरूलाई २० घन्टाको काम गर्न पाउने सुविधा थियो, तर अहिले अर्थात् सन् २०१५ को नयाँ नीतिअनुसार, फरदर एजुकेसनका लागि आउनेहरूले कामै गर्न नपाउने, तिनका डिपेन्डेन्टहरूले पनि काम गर्न नपाउने भएको छ । हुन त यो प्रस्तावना मात्रै हो, जो सम्भवतः यही सालको नोभेम्बरबाट लागू हुन सक्नेछ, तर खासगरी हाइअर एजुकेसन गर्न आउनेहरूको हकमा खुलेर बताइएको छैन । भिसाको अवस्था परिवर्तन गर्नका लागि बेलायत छाड्नुपर्ने अवस्था, नेपाली विद्यार्थीलाई निक्कै अप्ठ्यारो पार्ने खालको छ भने, डिपेन्डेन्ट (हाइअर एजुकेसनका लागि आउने विद्यार्थीका)हरूले हाइस्किल्ड काम खोज्नुपर्ने भनिएको छ । हाइस्किल्ड वर्करहरूमा लेखक, कलाकार, अभिनेता, रचनाकार, उद्घोषक, नर्तक, नृत्य निर्देशक, डिजाइनर आदिले सोहीबमोजिमको काम पाउने, या त्यो काम जो यहाँबाट विज्ञापन गरेर पनि पूर्ति हुन नसक्ने, पीएचडीका रिसर्च वोरियन्टेड कामहरू पर्दछन् । सिंखडा अगाडि भन्दछन् …. कुराचाहिँ पक्कै हो कि, कन्जर्भेटिभको विदेशी विद्यार्थीउपर लगाइएका नीतिहरूले गर्दा सम्पूर्ण विद्यार्थीलाई ठूलो धक्का लागेको भने छ, त्यसले गर्दा विद्यार्थी इष्टयुरोपतिर जुगाड गर्ने सिलसिलामा भासिएका बताइएको पनि छ र कतिपय यहाँ म्यारिटल स्टेटस् बनाउनका लागि जुगाड पनि गर्न थालेका देखिएका छन् ।
रञ्जित क्षेत्रीको बेलायत बसाइ आठ वर्ष बितिसकेको छ, अझै उनको डेढ वर्षको भिसाको अवधि रहेको छ, पोस्ट ग्य्राजुयट गर्नेलाई यहाँ यो नयाँ नीतिले खासै असर नपारेको र आफ्नो ट्रिपल मास्टर्स सकेपछि पीएचडी गरेर भए पनि यहाँ बस्ने आफूले मनसाय राखेको बताउने क्षेत्रीजस्तै एभरडिन, स्कटल्यान्डमा रहेका प्रकाश अर्यालका अनुसार पीएचडी गर्ने विद्यार्थीलाई यसले फरक नपारेको बताउँछन् । एक तथ्याङ्कअनुसार, बेलायतमा दुई लाख नेपाली रहेका छन् । सयौँ सङ्घसंस्था रहेको बेलायतमा अनेक आस्था र अवस्थाका नेपालीको बाक्लो परिवेश छ । जातजातिलगायत राजनीतिक सोचहरूमा विभक्त भएका समाजमा विद्यार्थीको अवस्था कहीँ न कतै अप्ठ्यारो हालतमा रहेको छ । यहाँ बस्न पाउनका लागि जीवनका निक्कै ठूलो सम्झौता गरी अमेल विवाह गर्नेहरू, नक्कली विवाह गर्नेहरूलगायत लुकिछुपी बस्नेहरूका आ–आफ्ना समस्याहरू त छँदै छन्, तर तिनले आमनेपाली समाजमा पनि असर पारिरहेको छ । अल्डरसट, प्लम्स्टेडतिर कतिपय भूपू गुर्खालगायत आमपरिवार भत्किएका पनि छन् । आफ्नी छोरी वा नातिनीका उमेरकी विद्यार्थी युवतीसँग विवाह गरेर छुट्टिएकाहरूको सङ्ख्या आम हुन थालिसकेका छन् ।
सरु तामाङले आफ्नी उही सङ्गिनी बबिता केसीलाई समयमै यहाँ कुनै नेपाली केटालाई फसाएर विवाह गर्न भनेकी भए पनि काम गर्ने र पढ्ने ध्याउन्नमा अनि आफ्नो आत्मासँग सम्झौता गर्न नसकेर धेरै समयसम्म बबिता एक्ली नै रहेकी थिइन् । आफूहरू पढेको कलेजको लाइसेन्स खारेज भएकाले अर्को कलेज खोजी त्यहाँ भर्ना हुनका लागि समय तथा पैसा खर्चिनुपरेको कटु हालतलाई बबिता कुनै दिन पनि भुल्दिनन् भने भाइ विवेकको भिसा थप गर्नका लागि त्यही क्रममा तिनका अभिभावकले धापासीमा रहेको आफ्नो उही धितोमा परेको घर नै बेच्नुपरेको थियो । त्यसरी ल्याएको पैसाले पनि भाइलाई बेलायतमा अड्याउन सकेको थिएन र भिसा थप नभएकाले भाइ नेपाल फर्कन बाध्य भएका थिए । धेरै समयपछि अमेरिकामा लगभग उस्तै हालतमा बस्ने एक नेपाली केटोसँग प्रेम गर्दै गरेकी बबिताको ब्रेनट्युमर अझै पूर्ण रूपमा निकालिएको छैन । वोनतोक लन्डनस्थित, एक उदार नेपालीको घरको बैठककोठामा गएको हप्तादेखि बस्दै गरेकी उनले दश वर्ष बेलायतमा बिताएको आधारमा आईएलआर पाएकै दिन, उही बेलाबेलामा दुख्ने टाउकोको समस्याले गर्दा केही अगाडि जीपीमा जँचाउन गएकोमा, त्यहाँबाट आफूलाई ब्रेनट्युमर भएको खबर एक साथ पाएकी थिइन् । आईएलआर पाएको लगत्तै उही एक्ली साथी सरुको सहयोगमा अस्पतालमा बेलाबखतमा भेट्ने मौका पाएकी थिइन् । काठमाडौंमा आफ्नो अभिभावक, (जो आजभोलि अर्काको घरमा भाडामा बस्दछन् र बाबु जसलाई केही महिनाअगाडि पहिलो हृदयाघात भएको थियो)लाई थाहा दिएकी छैनन् । सरकारी बेनेफिटको भरमा पालिएकी बबिता सुकेर दाउरी भएकीबारे बताउँदा सरु तामाङ अक्सर रुने गर्दछिन् । बिस्तारै–बिस्तारै नियमित अस्पताल यात्रापछि ठीक हुने बताइएको उनको बाँकी ट्युमरको साथ आफ्ना अनगिन्ती सपनाको चाङका साथ बबिता भोलिको सुन्दर दिनको आशामा जीवन घिसारेर बाँचिरहेकी छिन् ।
विदेशमा बस्ने वा पढ्ने वा जीवन बिताउनेहरूका जीवन आमनेपालीबाट सोचिने किसिमको सजिलो कहाँ छ र ?