■ प्रकाश के.सी. (लण्डन)
‘…पर्व त मन रमाइलो बेला मात्रै रमाइलो लाग्ने हो, नत्र त दिक्दारी मात्रै हो !’– एकोहोरोसँग गाडीको झ्यालबाहिरको पछाडि बत्तिरहेका घरहरूका झिलमिलतिर हेर्दै मार्कले भन्यो । म एक तमाससँग उस्तै गतिमा गाडी दौडाउँदै गएँ ।
नयाँ किसिमको ज्यादा सङ्क्रमित भनिएको कोरोना भाइरसको जगजगी भएकै सन्दर्भमा लण्डनलगायत वरपरजस्तै बकिम्घामसायरमा पनि टियर ४ नम्बरको कडा खालको लकडाउन शुरु भइसकेको छ । जताततै उल्लासमय रंगीबिरंगी प्रकारको चहलपहल हुने सडक अनि बजारहरू अहिले चकमन्न छन् । फाट्टफुट्ट चलेका गाडीहरूमध्ये एकमा हामी छौँ । आ-आफ्नै परिसरको परिवेशमा सबै घर-घरमा क्रिसमसको रमाइलोमा व्याप्त छन् तर म मार्कलाई लिएर काममा जाँदैछु । अचम्मै छ, पचास वर्षको उमेरमा पनि उसले गाडी चलाउन सिकेनछ र त हरेक दिन, कसै न कसैलाई बिन्ती गर्दछ, आफूलाई बाटोबाट उठाउनको लागि ।
क्रिसमसको उपहारस्वरुप प्रधानमन्त्री जोन्सनले बेलायती जनतालाई युनियनसँग हिजै मात्र सहमति जनाइएको ब्यापारिक सम्झौता दिलाएका छन्, एक किसिमले कोरोना भाइरससहित ब्रेजिटमा हुन सक्ने सम्झौताहीन अवस्थाको सम्भाव्यताले आक्रान्त रहेको यूकेमा केही हदसम्मको राहत भने छाएको हो । ज्यादा सङ्क्रमण क्षमता रहेको नयाँ खालको कोरोनाको व्यापकताको भयले लगभग ५० वटा देशले बेलायतसँगको सम्पर्कलाई छुट्याएको बेलाकै सप्ताहमा आधिकारिक अनि सम्पूर्ण रूपमा युुनियनसँग सदाकै लागि बेलायत छुट्टिँदै थियो । कुनै व्यापारिक सम्झौताबिना त्यसरी अलग हुन गए त्यसको असर बेलायतमा तुरुन्तै कस्तो देखिँदो हो भन्ने छनक, सोही नयाँ प्रकारको कोरोनाको फैलिने क्रमलाई आफ्नो देशमा घुस्न नदिनको लागि फ्रान्सले बोर्डर बन्द गर्दा लगभग पाँच हजार ट्रकहरू सीमावारी थन्किएको र त्यसले बिस्तारै बजारमा अभावका हाहाकारहरू ल्याउन थालेको घटनाले देखाइसकेको थियो । अतः बोरिसले सम्झौतालाई बेलायती जनतालाई दिएको क्रिसमस उपहार भन्दा ज्यादा फरक नपर्ला । मार्क सो समाचारमा पटक्कै खुशी थिएन, अन्धोलाई औंसी न पूर्णेजस्तो पो भएको मान्यो उसले ।
तथ्याङ्कअनुसार, पचास वर्षअघि बेलायतको औसत व्यक्तिले हप्ताको ३२ पाउण्ड कमाउने गर्दथ्यो, जसमा औसतअनुसारले छोराछोरीसहितको परिवारको लागि खर्च गर्दा पनि त्यसबाट यस्तै २० पाउण्ड खर्च हुन्थ्यो । त्यसताका ज्यादाजस्तो, परिवारमा एक जनाले मात्र काम गर्ने प्रचलन रहेको थियो । मार्कको परिवारमा पनि त्यस्तै थियो । उसको बाबुले मात्र काम गर्दथ्यो र पछि बाबाआमा छुट्टिएपछि उसकी आमाले मात्र काम गर्ने गर्दथी । अहिले मार्क एक्लो छ, उसको आफ्नो घर छैन, तर साधारणतया उसलाई ओभरटाइम नगरी महिना बिताउन मुश्किल पर्छ । यो पचास वर्षको अवधिमा महँगीले डाँडा काटेको बिरक्तो पाराले बताउने मार्कले आफ्नी पारपाचुके गरिसकेकी स्वास्नीलाई तिनीहरूको बच्चीको लागि भनेर चाइल्ड केयर भने महिनैपिच्छे पैसाको स्वरुपमा पठाउनु पर्दछ । फिलिपिन्समा रहेकी आफ्नी गर्लफ्रेन्ड र उक्त गर्र्लफ्रेन्डका दुई सन्तानलाई यहाँबाट पैसा पठाएर सहयोग गर्नुपर्दछ । त्यसैले त वार्षिक छुट्टीबाहेक उ महिनौँ लगातार काम गर्दछ । लगातार चार वर्षबाट मैले देख्दै आएको मार्क, मभन्दा दिन-प्रतिदिन ज्यादाभन्दा ज्यादा बूढो हुँदै गएको छ, तीन वटा दाँत गुमाइसकेको छ र कपाल सेतै फुलेको छ । अुनुहारभरि बेलायती जीवनशैलीको कठोर भोगाइले कोरेका धर्साहरू स्पष्टै झ्याँङ्गिएका छन् ।
आज अचानकै सन्दर्भबिना भन्न भ्याएछु- ‘मार्क, मलाई गलत नठान् है ? तँलाई तेरो यो हालतमा देख्दा म यता पो जीवनदेखि निरास र बिरक्त पो हुन थाल्दैछु । म त हेर्, यहाँ राम्रो भविष्य देखेर आएको तर तँ… ?!’
ऊ धेरैबेर त्यसै बस्यो । उसका आँखा अहिले देब्रेतिरबाट पछाडि बत्तिरहेका झाडीहरूका अँध्यारा पाटालाई ताकिरहेका थिए । हुस्सु लागेको डिसेम्बर महिनाको अँध्यारो साँझमा सडकका किनाराहरूका निथ्रुक्क भिजेर निरुत्तर रहेको मलीन लाग्ने सडकका बत्तीहरू झन् झन् निरीह लाग्दथे । बिस्तारै मतिर फर्कँदै भन्न थाल्यो- ‘हेर प्रकाश, यो सब केमा भर पर्दछ भने नि, तँ कसरी जिन्दगी बिताउँदछस् ?, कसरी सुख र खुशीलाई महशुस गर्छस् ?..भन्नेमा हो । जे मिलिरहेको छ, त्यसैमा तँ खुस छस् भने त्यो नै तेरो लागि आदर्श जीवन हो । मैले त्यो कहिल्यै पाइनँ, न बाबाआमाबाट, जसलाई याद आउनेदेखि कहिल्यै साथ देखिनँ, आखिरमा तिनीहरू त्यसरी नै बिते । न एक भएको दाइसँग, जो म्यान्चेस्टरमा बस्छ रे, हामी नभेटेको, अनि नबोलेको दशकौँ भयो, खासै भन्ने भए मलाई उसको अनुहार पनि याद आउँदैन, अनि न पूर्वस्वास्नीसँग, न उसले हुर्काएको छोरीसँग, जसले पछिल्लो सात वर्षबाट फोन पनि गरेकी छैन, अब एक वर्षपछि त हामीबीचको सपोर्टले गाँसेको नाता पनि सकिने छ, ऊ १८ वर्षकी हुने छे । वास्तवमै भन्ने भए, यदि कुनै दिन म बिरामी परेँ वा म कोठामा मरेँ भने मेरो लास त्यहीँ कुहिएर माटो हुने छ, कसैलाई थाहै हुँदैन । कोही छैन यहाँ मेरो । अलिकति बचाउन सके यो देश सदाकै लागि छोडेर फिलिपिन्स भासिन्छु । त्यहाँ कम्तीमा मलाई खोज्ने र मसँग हाँस्ने मान्छे त छ ।…’
मार्क यहाँ बेलायत एक्लो होइन, उजस्ता हजारौँ, या लाखौँ छन् । बेलायती जीवनशैलीमा व्यापक रुपमा परिवर्तन भएका छन् । परिवर्तन समयले होइन, अभावहरूले ल्याएको छ । लगभग ८००० वर्षअगाडि भौगोलिक उथलपुथलले युरोपबाट बेलायत अलग्गिएको भनाइ छ र राजनैतिक रूपमा करिव पचास वर्षपछि बेलायत युनियनसँग अलग्गिएको छ । तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुन आफ्नो चुनावी नारालाई सार्थक बनाउनका लागि २०१६ मा बेलायत युनियन …भित्र वा बाहिर… रहने भन्नेमा जनमत संग्रह गर्दा ५२ प्रतिशतका बेलायतीले बाहिरिनेमा भोट हालेका थिए । त्यसको चार वर्षपछि अन्त्यमा व्यापारिक सम्झौतासहित अर्को वर्षको शुरुवातैदेखि बेलायत पूर्ण रूपमा अलग्गिने भएको छ । विश्वको शक्तिशाली देश हुँदै शक्तिशालीमध्येको एक अनि पाँच धनीमध्येको एक राष्ट्र भएको बेलायत अहिले विश्वको आँकलनमा निक्कै नै खस्किएको छ । बेलायतको अगाडि अमेरिका, चीन, जापान, जर्मनी हुँदै अहिले भारत पनि उभिइसकेको छ । ब्रेक्जिटको समयमा आशंकित रहेको व्यवसायहरूलाई पछिल्लोपटकको कोरोना आतङ्कले धरासायी जस्तै पारेको छ । सयौँ व्यवसायहरू सदाकै लागि बन्द भएका छन् भने हजारौँ उत्पादनशीलता अन्यत्रै सरेका छन्, सयौँ बेचिएका छन् । मुलुकको ८० प्रतिशत आम्दानी सेवादायी बजारबाट आउने गरेकोमा यो कोरोनाको भयले ती लगभग सबै ठप्प भएका छन् । अपत्यारिलो किसिमले सरकारले ऋण लिएको छ, आन्तरिक व्यवसाय, कामदार अनि सेवाहरूलाई टेवा दिनका लागि । बताइएअनुसार बेलायत ३०० वर्षपछिको डरलाग्दो ठूलो घाटामा चलेको छ । यस्तोमा मार्कजस्ता हजारौँ बेलायतीहरू मुलुकबाट नै पलायन हुने चाहना पाल्दैछन् ।
सोन वुडब्रिज्ड, जो गत सालबाट अवकास लिएका थिए, हरेक साल वर्षको कम्तीमा दुई पटक, त्यो पनि महिनौँ–महिनौँको लागि श्रीमतीसहित पोर्चुगल, स्पेन, ग्रीस आदि देशमा जाने गर्दछन्, घुम्नु मुख्य होइन, एक महिनामा त्यहाँ प्याकेजमा जाँदा जति पैसा खर्च हुन्छ, त्यतिले यहाँ मुश्किलले दुई हप्ता गुजार्न सकिन्छ । उडब्रिज्डलाई ब्रेक्जिटले दुःख दिएको छ, एक प्रकारले गरिव तुल्याएको छ । आमजीवनमा खासै उल्लेखनीय परिवर्तनहरू नआउने देखिएको यो ब्रेक्जिटले बेलायतमा केही समय निक्कै उल्लेखनीय परिवर्तनहरू ल्याउने पक्का छ जसले कालान्तारमा दिने प्रभाव अहिले नै अनुमान गर्न गाह्रो पर्दछ । अवकासप्राप्त समयको उत्तरार्धमा स्पेनमा सानो आवास किनेर उतै स्थायी रूपमा बस्ने विचार राखेका वुडब्रिज्ड दम्पतीलाई अहिले बेलायत बसोबास महँगो अनि मुश्किल पर्दै गएको छ ।
युनियनबाट अर्को वर्षबाट आधिकारिक रूपमा अलग्गिँदै गरेको बेलायतमा पोर्चुगल, ग्रीस, पोल्याण्डलगायत पूर्वी युरोपका अन्य केही मुलुकका मानिसहरू हतारिएर भित्रिएका छन् । त्यसमध्ये कतिपय नेपाली पनि छन्, जो वर्षौंसम्म अन्त्यन्तै न्यून आम्दानीमा पोर्चुगल, स्पेनलगायतका देशमा काम गरेर युनियनको कागज प्रयत्नमा लागेर सफल भइ यहाँ फेरि अन्य त्यस्तै वर्षहरू बिताएर पूर्ण रूपको वैधानिकता बटुल्ने उज्ज्वल भविष्य देखेका छन् । जीवनका उर्जाशील वर्षहरू सपनारूपी मृगतृष्णामा गुमाएर बुढेशकालको जोहो गरेका लाग्नेहरू खासगरी नेपालीहरूलाई याद नभएको हुन सक्छ, हजारौँ स्थानीयहरू पलायनको बाटो पो रोजिरहेका छन् ।
एक ताजा तथ्याङ्कअनुसार बेलायतमा सम्पूर्ण जनसङ्ख्याको ६.९ प्रतिशत जनता बेरोजगार छन् । लगभग २९ प्रतिशतका जनसङ्ख्याले बेलायतमा कुनै न कुनै किसिमको सरकारी सहुलियत वा सहयोग थापेका छन् । कोरोना भाइरसले गर्दा बेलायत सरकारले यो वर्ष २१४.९ बिलियन पाउण्ड खर्चेको छ र आगामी आर्थिक वर्षको लागि ३९४ बिलियन पाउण्डको बजेट बनाइने योजना भएको छापामा आएको छ । यी सबै नै सरकारले ऋणस्वरुपको हो, जसलाई पूर्ति गर्नको लागि आगामी वर्षहरूमा यहाँ ट्याक्स बढाइने पक्का छ । यस्तोमा देशमा आर्थिक हालात कस्तो हुन्छ भन्ने केही अनुमान लगाउन सकिन्छ ।
मेरा केही मित्रहरू जो स्वरोजगारअनुसार आफ्नै ट्याक्सी चलाउने गर्दथे, तीमध्ये केही व्यवसाय परिवर्तन गर्नेतर्फ लागेका छन् भने केही काम खोज्दैछन् त केहीचाहिँ सरकारी राहत थापिरहेका छन् । घर बेच्ने, सुन बेच्ने अनि व्यवसायहरू बेच्नेहरू थुप्रिएका छन् र तिनलाई लगानीको रूपमा खरिद गर्नेहरू पनि सो परिमाणमा बढिरहेका छन् । तर यसबीच लगानीको मुनाफा भने लगभग घिस्रिँदै गएको छ । बेलायत ठूलो आर्थिक मन्दीमा गुज्रिरहेको छ, यसमा आगामी दुई वर्षले साँच्चै नै नकारात्मक अवस्था दिने छ भनेर अर्थविदहरू ब्रेक्जिटपछिको बेलायतको नयाँ युगलाई ध्यानमा राखेर भन्दैछन् ।
प्रतिपक्ष लेबोरको पूर्ण सपोर्ट रहने, कन्जर्भेटिभको बहुमतको सरकारलाई ब्रेक्जिट मुलुकमा भजाउन मुश्किल पर्दैन तर ठोस किसिमले स्कटल्याण्ड बेलायतबाट अलग्गिएर युरोपियन युनियनभित्र समाहित हुनेमा प्रतिबद्ध छ भने एक बजारको नीतिको अभावमा कतिपय बहुराष्ट्रिय कम्पनीहरू युरोपतिर सर्ने प्रवल सम्भावना छ । २० प्रतिशतका निर्माण सामाग्रीहरूलाई विश्व बजारमा प्रतिष्पर्धात्मक अवस्थामा स्थायित्व राख्न धेरै मुश्किल पर्ने आशंका अर्कोतिर गरिएको छ ।
सारांशमा, केही समयका लागि बेलायतमा आँखा चिम्लिएर अनि उल्लासमय रुपमा आशावादी हुन सकिने सम्भावनाहरू न्यून हुँदै गएका छन् । यस्तोमा, तर अवश्य नै उज्ज्वल भविष्यको सपना देखेर आउने आप्रवासी नागरिकहरूलाई मार्क तथा वुडब्रिज्ड जस्ताका जीवन देख्दा नैराश्यताले थलाउनु अति होइन ।